४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ओलीले एमसीसी उपाध्यक्षसंग भनेः काम अघि बढाउन खोज्दा सभामुखले रोके



काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीबीच शिष्टाचार भेटवार्ता भएको छ । ओलीको निवास बालकोटमा आज बिहीवार दिउँसो भएको भेटमा एमसीसी अघि बढाउने विषयमा छलफल भएको थियो ।

भेटमा उपाध्यक्ष सुमारले एमसीसी अघि बढाउने विषयमा चासो राखेपछि अध्यक्ष ओलीले आफू सरकारमा हुँदा एमसीसी अघि बढाउन खोजेको स्मरण गराउँदै अब यो विषय नयाँ सरकारमा भर पर्ने बताउनुभएको थियो ।

‘हामीले सरकारमा हुँदा एमसीसी कार्यान्वयनका लागि पहल गरेको हो, केही विषय अघि बढेकै थिए, अब यो विषय नयाँ सरकारमा भर पर्छ’, ओलीको भनाइ उद्धृत गर्दै नेता राजन भट्टराईले भन्नुभयो ।

ओलीले दुई देशबीचमा भएका सम्झौता पालना हुनुपर्छ भन्ने मान्यताअनुसार आफ्नो पालामा एमसीसी परियोजनाको प्रावधान संसदमा लगिसकेको बताउनुभएको थियो ।

‘एमालेभित्रै केही रिजर्भेसन रहँदा रहँदै पनि हामीले अघि बढाउने कोसिस गरेकै हो, संसदमा टेबुल गरिसकेका थियो, केबल सभामुखलगायत केही व्यक्तिको भूमिकाका कारण अघि बढ्न सकेन, तर अहिले हामी प्रतिपक्षमा छौँ, हाम्रो भूमिका फरक भएको छ, यो विषयमा सत्ताधारी दलले पनि हामीसँग छलफल गरेका छैनन्, अब के हुन्छ भन्ने भूमिका सरकारकै धेरै छ’, ओलीको भनाइ उधृत गर्दै नेता भट्टराईले भन्नुभयो ।

एमसीसीका उपाध्यक्ष फातिमा सुमारले अमेरिकाले नेपालको विकासका लागि महत्त्व दिएर एमसीसी परियोजना अघि बढाए पनि विवाद आउनु दुःखद रहेको बताउनुभएको थियो । एमसीसी नितान्त विकास निर्माणको परियोजना रहेको भन्दै सुमारले यसको विरोध नभएको भए राम्रो हुने कुरा बताउनुभएको पनि एमाले नेता भट्टराईले जानकारी दिनुभयो ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोली नेपालको चार दिने भ्रमणका लागि आज बिहीवार बिहान काठमाण्डौ आइपुगेको हो ।

प्रकाशित मिति : २४ भाद्र २०७८ बिहिबार ००:००  ५ : १३ बजे