४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सिद्धार्थ सहकारीले डुबान प्रभावित सदस्यलाई निर्बियाज ऋण उपलब्ध गराउने



मायादेवी अनलाइन, वाणगंगा ।
सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वाणगंगा नगरपालिकामा डुबानका कारण क्षति पुगेका आफना शेयर सदस्यहरुका लागि राहत तथा ऋण सहुलिएतमा सहयोग उपलब्ध गराउने भएको छ ।

गत भाद्र १० गते आएको अविरल वर्षापछिको डुवान र बाढीका कारण वाणगंगा नगरपालिकाको बढि क्षति पुगेका वडा नम्बर ३, १० र ११ का शेयर सदस्यलाई ३ महिनाको लागि निर्वियाजमा १ लाख ऋण उपलब्ध गराउने निर्णय गरेको हो ।

वर्षाका कारण सहकारीका सदस्यहरुको घरमा भएको क्षति तथा नोक्सान बारे अध्ययन गर्न ३ सदस्यीय समिति गठन गरेको सिद्धार्थ बचत तथा ऋण सहकारीका व्यवस्थापक हरिलाल शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्षेत्रका सदस्यहरुको वर्षापछि आएको बाढी तथा डुवानका कारण भत्किएका घर, खाद्यान्न लत्ता कपडा नष्ट भएको तथा बस्तुभाउ र व्यवसायमा क्षति भएको बारे अध्ययन गरि आवश्यक राहत सहयोग तथा ब्याज नलाग्ने गरी १ लाख सम्म लगानी गर्ने निर्णय गरिएको छ ।

अध्ययन समितिको संयोजकमा सूर्य कुमारी शाही, इन्दिरा भट्टराई र देवकला सुवेदी रहेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७८ बिहिबार ००:००  ८ : ३२ बजे