४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

शिक्षा दिवसः बुद्धभूमिमा सेवा निवृत्त शिक्षकलाई सम्मान, शैक्षिक सन्देश प्रकाशन



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सेवा निवृत्त शिक्षकहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । शिक्षा दिवसको अवसरमा बुधबार आयोजित एक कार्यक्रमका बीच हालै सेवाबाट निवृत्त भएका ७ शिक्षकलाई सम्मानपत्र, दोसल्लाले सम्मान गरिएको हो ।

सम्मानित हुने सेवा निवृत्त शिक्षकहरुमा गौतमबुद्ध मावि गोरुसिंगेका रामप्रसाद अर्याल (मावि दृतीय), सिद्धार्थ स्मारक भेलाईका राम बहादुर चौधरी (निमावि दृतीय), गौतमबुद्ध मावि गोरुसिंगेका तुल्सीराम बञ्जाडे (प्रावि दृतीय) सिद्धार्थ स्मारक भेलाईका झिंकन चौधरी (प्रावि दृतीय) भृकुटी मावि बुड्ढीका रविन्दनाथ पौडेल (प्रावि दृतीय), राष्ट्रिय आधारभूत विद्यालय मानपुरका नन्दा यादव (प्रावि दृतीय) र जनकल्याण आधारभूत विद्यालय गेलवाका रेश्मीराज सुवेदी (प्रावि दृतीय) रहनुभएको छ ।

सेवा निवृत्त शिक्षकलाई सम्मान गर्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले आधा जीवन शिक्षक पेशामा समर्पित भई सामाज रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका शिक्षकलाई हैसला प्रदानका लागि यस्तो कार्यक्रम राखिएको बताउनुभयो । शिक्षक पेशाबाट सेवा निवृत्त भएपनि समाज रुपान्तरणमा अनुभव, ज्ञानको आवश्यकता रहेको भन्दै बुद्धभूमिको विकासमा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गर्नुभयो । शिक्षा क्षेत्रको विकास विना अरु क्षेत्रको विकास सोचेजस्तो नहुने भन्दै अब गुणस्तरीय शिक्षामा सबैले जोड दिनुपर्ने बताउनुभयो । नगरपालिकाको ध्यान शिक्षाको सुधार तर्फ रहेको भन्दै विद्यालयस्तरमा हुने अभावलाई विस्तारै हल गर्दै जाने बताउनुभयो ।

नगर उपप्रमुख मिरा थारुले शिक्षक समाजका ऐना भएको भन्दै आफुले सधै सम्मान गर्ने बताउनुभयो । गुरुहरुको हैसलाको कारण आफु यो स्थानमा रहेको भन्दै सेवा निवृत्त हुनुभएका शिक्षकलाई आगामी यात्राको लागि शुभकामना दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बुद्धभूमि नगरपालिकामा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न प्रयासहरु भैरहेको बताउनुभयो । किशोरी अवस्थामा विद्यालय छाड्ने दर बढीरहेको सन्दर्भमा त्यसलाई रोक्नका लागि विभिन्न रचनात्मक काम गरिरहेको उहाँले बताउनुभयो । यो बर्ष ५ वटा वडामा कक्षा ८ मा पढ्ले विद्यार्थीलाई साकइल बाडिएको भन्दै यसको प्रभाव राम्रो परेको सुनाउनुभयो ।

सेवा निवृत्त हुनुभएका गौतम बुद्ध माविका पूर्व प्राचार्य रामप्रसाद अर्यालले आफुले चार दशक बढी शैक्षिक उन्नयनका लागि समय विताएको अनुभव सुनाउनुभयो । जीवनको उर्जाशिल समय शिक्षण पेशाका लागि विताएको भन्दै उक्त अनुभवलाई अब समाज रुपान्तरणको क्षेत्रमा खर्च गर्ने बताउनुभयो ।

उक्त अवसरमा नगर स्तरीय वक्तृत्वकला प्रतियोगीतामा उत्कृष्ट हुने ४ जना छात्र, छात्रालाई नगद पुरस्कारसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

जसमा भृकुटी माविकी सृष्टि पाल प्रथम, नेपाल राष्ट्रिय मावि चौरीकी मोनादेवी चौधरी, आदर्श बोर्डिङ स्कूल इमिलियाका युवराज थारु तृतीय र श्री मावि इमिलियाका अविरल पौडेलले सान्त्वना स्थानको पुरस्कार पाउनुभएको हो । पुरस्कारको राशि क्रमश ७ हजार, ५ हजार, ३ हजार र १५ सय रहेको थियो ।

यस्तै हरेक बर्ष नगरपालिकाले प्रकाशन गर्दै आएको शैक्षिक बुलेटिन पत्रिकाको पनि विमोचन गरिएको थियो ।

नगरका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत कृष्णप्रसाद भटट्राईको सञ्चालनमा भएको कार्यक्रममा शाखाका प्राविधिक सहायक माधव पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७८ बुधबार ००:००  ९ : १७ बजे