४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दल विभाजनसम्बन्धी अध्यादेश सदनबाट पास गरेर देखाउन पौडेलको चुनौती



रुपन्देही ।
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अध्यादेश पास गरेर कानूनका रूपमा निरन्तरता दिन सरकारलाई चुनौति दिएका छन् ।

एमालेको लुम्बिनी प्रदेश कमिटीको बैठकमा गरिएका निर्णयहरू सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सरकारलाई सदनबाट विधेयक पारित गर्न चुनौति दिएका हुन् ।

“अध्यादेश कायम रहेमा आफ्नै पार्टी विभाजन हुने डरले गठबन्धनको सरकार यो अध्यादेशलाई कानुनका रूपमा निरन्तरता दिन तयार छैन । सरकारले सदनबाट पारित गरेर देखाओस्,” उनले भने ।

पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पौडेलले एमालेको विभाजन सर्पले काँचुली फेरेको जस्तो भएको बताएका छन् ।

“हाम्रो आन्दोलनमा जुन खालको प्रवृत्ति देखिएको छ, त्यो पात्रलाई काँचुली छोडे जस्तै गरि छाडेको मात्रै हो,”उनले भने-“सर्पले काँचुली फेरेजस्तै हो, विभाजनले कुनै असर राख्दैन।”

नेता पौडेलले माधव नेपालले नयाँ दल बनाउनु दाजूभाइसँग रिस उठेर आमामाथि बन्चरो प्रहार गर्नु जत्तिकै रहेको बताए । उनले भने-“माधव नेपालको पार्टी गठन गर्नु आमामाथि बञ्चरो हानेको जस्तो भएको छ । यो अपराध कर्मलाई इतिहासले क्षमा गर्ने छैन ।”

त्यस्तै नेता पौडेलले लुम्बिनी प्रदेशमा पार्टी विभाजनको “वाछिटा” नपरेको दावी गरे । उनले भने –‘पार्टी विभाजन भएकै कारण एमालेमा विग्रहको अपेक्षा नगरे पनि हुन्छ, लुम्बिनीको बैठकले त्यो सन्देश दिएको छ ।’ लुम्बिनीमा विभाजनको कुनै पनि प्रयास सफल हुनै नदिने उनको दावी छ ।

“संसदीय अंकगणितले के देखाउछ, त्यो अर्को पाटो हो, तर हामी नेपालको ठूलो दल हो, हामी राष्ट्रिय स्तरको लिड पार्टीका हौं,” उनले भने ।

हिजो बसेको एमालेको लुम्बिनी प्रदेश कमिटीले लुम्बिनी १० बुँदे सम्झौतालाई सकरात्मक रुपमा लिएर रचनात्मक रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । लुम्बिनीको बैठकले एमाले प्रदेश कमिटिका जिम्मेवारी तोकिएको छ । नेकपा एमाले लुम्बिनीको अध्यक्षमा लिला गिरी, उपाध्यक्ष खेम बहादुर खड्का, सचिव भूमिश्वर ढकाल चयन भएको समेत पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ भाद्र २०७८ बुधबार ००:००  ४ : ४१ बजे