४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

३८ वर्षको उमेरमा कांग्रेस अर्घाखाँचीको सभापतीमा पौडेलको उम्मेदवारी घोषणा



अर्घाखाँची ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशनको मिति नजिकिएसँगै अर्घाखाँचीमा चहलपहल बढेको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा जिल्ला सभापति पदमा युवानेता इन्द्रमणि पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । ३८ बर्षीय युवा नेता पौडेल काँग्रेसको १३ औँ महाधिवेशनमा अत्यधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा विजयी भएका थिए ।

३/४ जना सभापति पदमा आकांक्षी रहेको अर्घाखाँचीमा कांग्रेस हाँक्ने जिम्मेवारीको बाजी कसले मार्ला भनेर यतिबेला चर्चा सुरु भएको छ । २०३९ सालमा साविक धातिवाङ्ग गाविस वडा नं. ६ मा जन्मिएका पौडेल सानै उमेरदेखि नै नेवि संघ, तरुण दल हुँदै काँग्रेसको राजनितीमा सक्रिय भएका हुन ।

‘मैले नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा चुनाव लड्नका लागि घोषणा गरिसकेको छु ।’ आम जिल्लाबासीको चाहना अनुसार पुराना नेता र अग्रजहरूलाई सम्मान गर्दै युवाले नेतृत्व लिनुपर्छ भन्ने उद्देश्यका साथ मैले जिल्ला सभापति भई काम गर्ने तयारी गरेको छु पौडेलले भने ।

बेरोजगार युवाहरूलाई आफ्नै ठाउँमा रोजगारी वा स्वरोजगार उद्यमशीलतामा समाहित गर्नुपर्छ भन्ने मुख्य उद्देश्यका साथ युवाहरूलाई आयमूलक कार्यमा व्यस्त बनाउँदै काँग्रेसको संगठनलाई मजवुद बनाउने दायित्व रहेको पौडेलले बताए । ‘युवाहरूलाई देशभित्रै राख्न सकेमा आगामी निर्वाचनमा युवाको महत्व बढी हुने भएका कारण प्राथमिकतामा राखेको पौडेलले बताए ।’

सामान्य परिवारमा जन्मेका पौडेलले अर्घाखाँचीमा गैरसरकारी संस्था मार्फत धेरै युवाहरुलाई स्वरोजगार बनाएका छन् । संस्थापन इतर समूहका पौडेल भन्छन् ‘राजनीति पाका उमेरकले मात्र गर्नुपर्छ भन्ने कुरा हुँदैन । बिपी कोइराला ४५ वर्षको उमेरमा प्रधानमन्त्री बन्नुभएको थियो । म पनि सानै उमेरदेखि राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील भएका कारण पनि पार्टीको संगठन चलाउने क्षमता छ । नयाँ प्राविधिक युगसँगै पार्टी सञ्चालन गर्ने तरिका पनि प्रविधिमैत्री हुनुपर्छ । सामाजिक क्षेत्रमा क्रियाशील रहँदा संघसंस्था सञ्चालन गर्ने ज्ञान र अनुभव पनि छ ।

सबै क्षेत्रबाट अवकाश लिएपछि राजनीतिमा आउनुपर्छ, भन्ने मान्यतालाई पनि म तोड्न चाहन्छु । अहिले धेरै युवाहरू राजनीतिमा आउनुभएको छ । यसले भोलिको राजनीतिक संस्कारलाई पनि परिवर्तन गर्न सहयोग गर्ने विश्वास लिर्दै जित सुनिश्चीत रहेको पौडेलको दाबी रहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८ बुधबार ००:००  ८ : २९ बजे