४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

निजामती सेवा दिवसः कर्मचारी मिलन केन्द्र बुद्धभूमिद्धारा रक्तदान



मायादेवी अनलाइन, बुद्धभूमि ।
विभिन्न रचनात्मक काम गर्दै आएको कर्मचारी मिलन केन्द्र बुद्धभूमिले निजामती सेवा दिवस एवं अन्तराष्ट्रिय शिक्षा तथा साक्षरता दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मंगलबार बुद्धभूमि नगरपालिकामा आयोजित रक्तदानमा ६० पोइन्ट रगत संकलन भएको कर्मचारी मिलन केन्द्रले जनाएको छ ।

कर्मचारी मिलन केन्द्र बुद्धभूमि नगरपालिकाको आयोजना तथा रोट्रयाक्ट क्लब अफ बुद्धभूमिको सहकार्यमा रक्तादन कार्यक्रम भएको हो ।
उक्त रक्तदानमा रक्तदाताहरुबाट ६० पोइण्ट रगत संकलन भएको बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनुभएको छ ।

रक्तदान गर्नाले शरीरमा नयाँ रगत निर्माण हुने र शरीर स्वस्थ हुने गर्दछ । रक्तदान, जीवन दान भएकाले यो पुण्य कार्यबाट रगतको अभाव पूरा गर्नका लागी सबैले रक्तदान गर्नुपर्ने नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधि, शिक्षक, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु तथा नगरवासीको सहभागीतामा रहेको थियो ।

कर्मचारी मिलन केन्द्रका संयोजक राम प्रसाद भट्टराईको अध्यक्षता, नगर प्रमुख केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, नगर उप प्रमुख मिरा थारु तथा प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन कर्मचारी मिलन केन्द्रका सचिव विजय भुसालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७८ बुधबार ००:००  ७ : ३८ बजे