४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कोभिडले भारतमा श्रीमान गुमेपछि पीडामा रहेकी माया विकलाई लायन्सको सहयोग



मायादेवी अनलाइन, चारनम्बर ।

कोरोनाको कारण भारतमा आफ्नो श्रीमान् गुमाएपछि बेसहारा बनेकी बाणगंगाकी एक महिलालाई लायन्स क्लव अफ कपिलवस्तुले सहयोग गरेको छ । वडा नम्बर १ को उत्तमनगरमा स्थानीय फुलमाया परियारको घरमा आश्रय लिई निकै कष्टपूर्ण जीवन विताइरहनु भएकी माया विकको परिवारलाई लायन्स क्लवले करिब १० हजार बराबरको चामल, बास्मति चामल, दाल, नुनतेल, लत्ताकपडा वितरण गरेको हो ।

माया विकको अवस्था दयनीय भएको थाहा पाएपछि उहाँकै घरमा गएर बार्षिक कार्यक्रम(हंगर रिलिफ पोग्राम) अनुसार सहयोग गरिएको क्लवका अध्यक्ष धातान्द भुसालले जानकारी दिनुभयो । सबैले तीजमा मिठो मसिना खाएर मनाइरहेको अवस्थामा आफूहरुले उक्त परिवारलाई बासमति चामलसहित नयाँ कपडा पनि सहयोग गरिएको भुसालले बताउनु भयो ।

सहयोग पाएपछि माया विकले खुसीको आँसु झार्नुभयो । श्रीमान्को सम्झनामा भक्कानो छोड्नु भएकी उहाँले भन्नुभयो ‘आफ्नो कोही पनि छैनजस्तो लाग्दथ्यो । तर यहाँ सहयोगी हात पनि रैछन् । सारै खुसी छु । यी केटाकेटीले तीजमा नयाँ लुगा लगाउन पाउने भए । भात पनि बास्मतिको खान पाइने भयो । तपाईहरुलाई धन्यबाद ।’ उहाँले आफ्नो बास स्थान पनि नभएकोले भोली कहाँ जाने भनेर दुख ब्यक्त गर्नु भएको छ । नगरपालिकाले केक गर्छ रे , दुखीलाई हेर्छ रे भन्ने सुनेकी थिएँ । खै मैले त केही पनि पाइनँ, उहाँले थप्नु भयो ।

क्लवका कोषाध्यक्ष नवदत्त घिमिरेले भोलिको दिनमा आवासको लागि पनि सहयोग गर्ने बताउनु भयो । उहाँका परिवारमा अन्य ५ छोराछोरी पनि रहेका कारण मायालाई पालन पोषण गर्न समस्या भइरहेको छ । उहाँका श्रीमानको मृत्युपछि ती बालबच्चाहरुको विचल्ली भएको थाहा पाएपछि घर खोज्दै आएर सहयोग गरिएको उहाँले बताउनु भयो ।

मायाका छिमेकी तथा समाजसेवी लिल बहादुर पहराइले वास्तविक ठाउँमा क्लव सहयोग लिएर आएको भन्दै धन्यबाद दिनुभयो । मायाको परिवारलाई सबैले सहयोग गर्नु पर्ने उहाँको भनाई छ । सचिव सागर घिमिरेले संचालन गर्नु भएको कार्यक्रममा क्लवका अन्य पदाधिकारी, लियोबका अध्यक्ष पाण्डव भण्डारी पनि जानु भएको थियो । त्यसअघि क्लवको नियमित वैठक वैरियाको सचिवालयमा बसेको थियो । क्लवले भावि दिनमा पनि बिभिन्न प्रकोप र बाढीमा परेका, निम्न आए भएका, एकल तथा निसन्तान ब्यक्तिलाई सहयोग गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८ मंगलबार ००:००  १० : ४१ बजे