४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पन्जशिरमा तालिबानको झण्डा, एनआरएफद्वार तालिबानको दाबी खारेज




एजेन्सी ।

तालिबानले पन्जशिर उपत्यकामा विजय प्राप्त भएको घोषणा गर्दै आफ्नो झण्डा फहराएको छ । अफगानिस्तानका सबै क्षेत्र तालिबानको नियन्त्रणमा जाँदा पनि राजधानी काबुलबाट उत्तर तर्फ रहेको पन्जशिर उपत्याका प्रान्त भने तालिबानको कब्जा बाहिर थियो ।

तालिबान विरोधी नेशनल रेसिस्टेन्स फ्रन्ट ९एनआरएफ० र स्थानीय लडाकु समूहले तालिबानसँग लडिरहेका थिए । तर तालिबानले पन्जशिरमा पनि जित हाँसिल गरेको र सो क्षेत्र आफ्नो कब्जामा आएको बताएको हो ।

सोमबार आफ्ना लडाकुहरुले झण्डा फहराउँदै गरेको भिडियो तालिबानले पोस्ट गरेको छ । तर एनआरएफका लडाकुहरुले अझै पनि रणनीतिक रुपमा महत्वपूर्ण क्षेत्रमा आफूहरुको उपस्थिति रहेको बताएका छन् । उनीहरुले युद्ध जारी रहेको उल्लेख गरेका छन् ।

एनआरएफका नेताले तालिबानविरुद्ध देशभरबाट अभियान थाल्न आह्वान गरेका छन् । एनआरएफका नेता अहमद मसूदको अडियो सन्देश सामाजिक सञ्जालमा पोस्ट गरिएको छ । त्यसमा नेता मसूदले अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई वैधानिकता प्रदान गरेको र सैन्य तथा राजनीतिक विश्वास दिएको भन्दै आलोचना गरेका छन् ।

उनले भनेका छन्, ‘जे भए पनि तपाईँहरु जहाँ हुनुहुन्छ म स्वाधिनताका लागि राष्ट्रिय अभियान थाल्न आह्वान गर्छु । यो अभियान हाम्रो देशको स्वतन्त्रता र समृद्धिका लागि हुनेछ ।’

तालिबानले तीन हप्ता अघि अफगानिस्तानमा नियन्त्रण कायम गरेको हो । अगस्ट १५ मा तालिबानले राजधानी काबुल कब्जा गरेका थिए ।

तालिबान २० वर्षपछि फेरि सत्तामा आएको हो । अमेरिका नेतृत्वको अन्तर्राष्ट्रिय सेनाले दुई दशकदेखिको सैन्य अभियान अन्त्य गरेपछि फेरि तालिबान सत्तामा आउन सफल भएको हो ।

पहाडी उपत्यका पन्जशिरमा एक लाख ५० हजार देखि दुई लाख मानिसको बसोबास छ । यो उपत्यका सन् १९८० को दशकमा सोभियत युनियन तथा सन् १९९० को दशकमा तालिबानलाई पराजित गर्न सफल भएको थियो ।

तालिबानले अहिले पन्जशिर कब्जा गरेको बताएका छन् । तर एनआरएफका प्रवक्ता अली माइसमले तालिबानले पन्जशिर कब्जा नगरेको र सो दाबी खारेज गर्ने बताएका छन् । न्याय र स्वतन्त्रताका लागि लडाईँ जारी रहेको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८ मंगलबार ००:००  ८ : ११ बजे