४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

काठमाण्डौमा यसपालिकै सबैभन्दा ठूलो वर्षा, बिभिन्न ठाउँ जलमग्न




काठमाण्डौ ।

काठमाण्डौमा यसपालिकै सबैभन्दा ठूलो वर्षा भएको छ । राति २ बजेदेखि काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार काठमाण्डौमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ ।
पछिल्लो तथ्याङ्क आइनसकेकाले अझ यो भन्दा धेरै वर्षा भएको हुन सक्ने मौसमविद् अर्यालले बताउनुभयो । यसपालि बर्खा लागेपछि पहिलो पटक छोटो समयमा एकै पटक यति ठूलो वर्षा भएको पनि मौसमविद् अर्यालले बताउनुभयो । पछिल्लो एक घण्टामा भक्तपुरको नगरकोटमा पनि ४१ मिलिमिटर पानी परेको छ ।

मनसुनी न्यून चापीय रेखा सामान्य अवस्था भन्दा तल रहे पनि बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
यता गएरातिदेखि परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् ।

रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका करिडोर जलमग्न भएका छन् भने वाग्मती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको ५, ६ वटा साना गाडी बगाएको प्रहरीले जनाएको छ । बल्खुको फलफूल तरकारी बजार पनि डुबानमा परेको छ ।
अहिले त्यहाँ सामान हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । यस्तै, काठमाण्डौको टेकुमा रहेको परोपकार क्षेत्रको सुकुम्बासी बस्ती पनि डुबानमा परेको छ । प्रहरीका अनुुसार डुबानमा फसेका एक व्यक्तिको उद्धार गरिएको छ । त्यसैगरी, रामकोट, बाफल सीतापाइला, मुलपानी लगायत क्षेत्रमा पनि डुबानले बस्ती जोखिममा परेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८ सोमबार ००:००  ७ : ५६ बजे