४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

उद्योग व्यापार संघको वार्षिक कार्ययोजना कार्यशाला



बुटवल ।

उद्योग ब्यापार संघ बुटवलको वार्षिक कार्ययोजना कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कपिलवस्तुको बाणगंगा–३ राजापानीमा सम्पन्न दुईदिने कार्यशाला गोष्ठीले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सामूहिक लगानीमा कृषिमा आधारित उत्पादनमूलक उद्यम शुरु गर्ने लगायतका योजनाहरु पारित गरेको छ । यस्तै संघको सचिवालयका लागि जग्गा प्राप्ति र भवन निर्माणको तयारी,सदस्यता बृद्धि,आजीवन सदस्यता वितरण,महिला उद्योगी–व्यवसायीलाई सीपमूलक तालीम दिने योजना पारित गरेको छ ।

यस्तै औद्योगिक प्रदर्शनी तथा सांस्कृतिक महोत्सवको तयारी,संघमा आवद्ध उद्योगी व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता तथा कोरोना नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गर्ने योजना पारित भएको छ । यस्तै मौद्रिक नीति,राजस्व,भन्सार,आयकर सम्बन्धी गोष्ठी र सेमिनार गरी उद्योगी व्यवसायीलाई जानकारी गराउने योजना पनि पारित भएको छ ।

यस्तै आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकार मध्येबाट हरेक दुई वर्षमा एक–जना पत्रकारलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यस्तै प्राकृतिक विपद्बाट पीडित तथा अति विपन्न, अनाथ,अपांग वर्गलाई राहत र सहयोग प्रदान गर्ने योजना पनि संघले पारित गरेको छ ।

कार्यशाला गोष्ठीमा प्रशिक्षणमूलक मन्तव्य राख्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश महासचिव खिमनारायण पराजुलीले देशको अर्थतन्त्रको मेरुदण्ड उद्योगी व्यवसायी नै भएको उल्लेख गर्दै संघले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

संगठनका केन्द्रीय सदस्य एवं संघका पुर्व अध्यक्ष खेम श्रीसले परनिर्भर र आयातमुखी ब्यापारलाई निर्यातमुखी बनाउनेतर्फ संघको ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिए । संघका निवर्तमान अध्यक्ष प्रविणबहादुर पाठकले राज्यलाई कर तिरेर योगदान दिने उद्योगी व्यवसायीका समस्या र मागप्रति सरकारी निकायले बेवास्ता गरेकाले दवाव दिनुपर्ने धारणा राखेका थिए ।

संघका अध्यक्ष गोबिन्दप्रसाद गैरेले अघिल्लो कार्यसमितिले अघि सारेका अधुरा कार्यलाई निरन्तरता दिंदै कार्याला गोष्ठीले पारित गरेका योजनाहरु पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यशालामा उद्योग उपाध्यक्ष विष्णुप्रसाद पाण्डे,वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी,महासचिव पदम जीसी,सचिव यमलाल मरासिनी, सहकोषाध्यक्ष नम्रता थापा,गोष्ठी संयोजक जनेश पन्थीले आआफ्ना धारणा राख्दै उद्योगी व्यवसायीका समस्या र सुख दुखमा साथ दिंदै संघलाई साना,मझौला र ठूला सबैखाले उद्योगी,व्यवसायीको साझा र नेतृत्वदायी संस्था बनाउनुपर्ने प्रतिवद्धता जनाएका थिए । संघमा हाल ६ सय उद्योगी व्यवसायी आवद्ध छन् । कार्यशाला गोष्ठीपछि संघले बाणगंगाा लखनपरास्थित लुम्बिनी वहुउद्देश्यीय एग्रो फार्मको अवलोकन समेत गरेको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७८ आइतबार ००:००  ५ : ३३ बजे