४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रुकुम पश्चिममा एमाले अध्यक्ष सहित ४६ जना माधव नेपालको पाटीमा रुपान्तरण



रुकुम पश्चिम ।
नेपाल कम्युनिष्ट पार्टी एमाले रुकुम पश्चिमका अध्यक्ष बिमलकुमार पुन सहित सिंगो पदाधिकारी एकीकृत समाजवादीमा रुपान्तरण भएको छ । सदरमुकाम मुसिकोटमा शनिबार बसेको जिल्ला कमिटी बैठकबाट एमाले उपाध्यक्ष ऋषिप्रसाद शर्मा बाहेक सिंगो पदाधिकारी समाजवादीमा रुपान्तरण भएको हो ।

पार्टी अध्यक्ष पुनका अनुसार एमालेका सचिव हरिप्रसाद शर्मा, उपसचिव माधव गौतम लगायत बहुमत जिल्ला कमिटी एकीकृत समाजवादीमा रुपान्तरण भएको छ । उपाध्यक्ष शर्मा भने हालसम्म कुनैपनि पार्टीमा नखुलेको बताइएको छ । एमालेको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी सहित ६५ जना जिल्ला कमिटीबाट ४६ जनाले नेकपा एकीकृत समाजबादी रोजेका हुन् । त्यस्तै ५ जना जिल्ला कमिटी सदस्य माओवादी केन्द्रमा गएको र बाँकी १४ जना मात्र एमालेमा रहेका छन् ।

त्यस्तै रुकुम पश्चिमबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका साँसद ठकेन्द्र प्रकाश पुरी र कर्णाली प्रदेश साँसद देवी ओली पनि एकीकृत समाजवादीमा लागेका छन् । एमाले केन्द्रीय सदस्य शेरबहादर केसी समेत एकीकृत समाजवादीमा लागेकाले रुकुम पश्चिममा एमाले कमजोर देखिएको छ । केन्द्र देखि जिल्लाका पार्टी अगुवा नेता नै एकीकृत समाजवादीमा रुपान्तरण भएकाले एमाले पार्टीमा ठूलो धक्का लागेको छ ।

यसले रुकुम पश्चिमबाट प्रतिनिधि सभाकी समानुपातिक साँसद बनेकी एमाले नेतृ तीर्था गौतम लगायत जिल्ला स्तरका केहि एकदुईजना नेतालाई एमाले पार्टी निर्माणमा ठूलो चुनौती देखिएको छ । जसका कारण रुकुम पश्चिममा एमाले भन्दा एकीकृत समाजवादी नै शक्तिशाली पार्टी बन्ने आँकलन गरिएको छ । जिल्ला देखि केन्द्रीय तहका नेतासम्म नेकपा एसमा आवद्ध भएकाले आम कार्यकर्ता समेत नयाँ दलमा खुलेरै लोगेका छन् ।

यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा समेत रुकुम पश्चिमको ७३ वडामध्ये दुईवटा वडामा अध्यक्ष जितेको एमालेका एकजना वडाध्यक्ष सहित बहुमत जनप्रतिनिधि नयाँ दलमा लागेका छन् । आठबिसकोट नगरपालिका –१३, का वडाध्यक्ष बिनोद पुन सहित सिंगो निर्वाचित सदस्यहरु एकीकृत समाजवादीमा लागेको र आइतबार मात्रै जिल्ला निर्वाचनमा पुगेर सनाखत गर्ने बताइएको छ । त्यस्तै चौरजहारी नगरपालिका –१३, का दुईजना वडा सदस्यले पनि नेकपा एस नै रोजेकाले २२ गते सम्म निर्वाचन आयोगमा पुगेर सनाखत गर्ने पार्टी अध्यक्ष पुनले बताएका छन् । औपचारीक रुपमै एकीकृत समाजवादी पार्टी बनेसंगै रुकुम पश्चिमको जिल्ला कमिटी मुसिकोटको कालिका मन्दिरमा पार्टी कार्यालय समेत स्थापना गरेको छ । नेकपा एसका केन्द्रीय सदस्य शेरबहादुर केसीले आजमात्रै पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।

यसैबिच शनिबार सम्पन्न नेकपा एकीकृत समाजवादीको पहिलो जिल्ला कमिटी बैठकले १ सय ६ जनाको जिल्ला कमिटी समेत निर्माण गरेको छ । बैठकले जिल्लाका सबै पालिकामा पार्टी निर्माणका लागि कार्यकर्ता भेला र कमिटी निर्माणलाई तीब्रता दिने बताएको छ । जिल्ला कमिटीको पहिलो बैठकलाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधबकुमार नेपालले टेलिफोन मार्फत सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा अध्यक्ष नेपालले नयाँ क्रान्तिकारी पार्टी निर्माणमा सम्पुर्ण शक्ति एकजुट हुनु आजको आवश्यक्ता रहेको बताए । बैठकमा नेकपा एसका केन्द्रीय सदस्य शेरबहादुर केसीको प्रमुख आतिथ्यता रहेको पार्टी अध्यक्ष बिमल कुमार पुनको भनाई छ ।

प्रकाशित मिति : २० भाद्र २०७८ आइतबार ००:००  १ : ५६ बजे