४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आजदेखि ‘लाइसेन्स’ परीक्षा सुरु



काठमाण्डौ ।

वाग्मती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि फेरि सुरु भएको छ । गएको वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा रोकिएको थियो । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा ९ट्रायल० संलग्न हुने, एक पटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भइ वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीका लागि परीक्षा सञ्चालन हुने जनाएको छ ।

यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८’ स्वीकृत गरेसँगै रोकिएका परीक्षा सञ्चालन गर्न मन्त्रालय मातहतका निकायलाई बाटो खुला भएको हो ।

कोरोनाका कारण देशभर परीक्षा रोकिँदा करिब आठ लाख सेवाग्राही समस्यामा परेका जनाइएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले अब सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७८ का अनुसार परीक्षा हुने जानकारी दिनुभयो ।

भर्खरै जारी यो नयाँ मापदण्डमा परीक्षार्थीले जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य पालना गर्दै मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने छ । यसैगरी परीक्षाका क्रममा भीडभाड नगरि भौतिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीको शारीरिक तापक्रम मापन गर्नुपर्ने, प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउनुुपर्ने र मापदण्डअनुसार परीक्षा सुरु हुनु अगावै परीक्षार्थीलाई ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिने उल्लेख छ ।

तोकिएको समयमा उपस्थित हुन नसक्ने परीक्षार्थीलाई अनुपस्थित भएको मानिने र त्यही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने मापदण्डमा प्रावधान छ । परीक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराइने व्यवस्था मापदण्डमा गरिएको छ । परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० परीक्षार्थीलाई मात्र सहभागी गराइने भनिएको छ ।

कार्यालयले खुला ठाउँ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नुपर्ने मापदण्डमा व्यवस्था छ । अब ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका, २०७७’ अनुसार परीक्षा हुने बताइएको छ । यसैबीच नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि वस्तुगत नमुना प्रश्न सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर सहित ‘ख’ वर्गको कार, जीप र डेलिभरी भ्यानको अनुमतिपत्रको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक गरिएको हो ।

लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा गाडीको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी पूर्णाङ्क १०० रहने गरी चाररचार अङ्कका जम्मा २५ वस्तुगत बहुत्तर प्रश्न सोधिने जनाएको छ । त्यही सङ्ग्रहभित्रबाट २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने र ३० मिनेटका परीक्षामा उत्तीर्ण हुन न्यूनतम ६० अङ्क ल्याउनुपर्ने छ । निर्देशिकामा प्रयोगात्मक परीक्षाका प्रावधानमा समेत परिमार्जन गरिएको बताइएको छ । रासस

प्रकाशित मिति : २० भाद्र २०७८ आइतबार ००:००  १ : ३५ बजे