४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मुहानको वडास्तरीय ब्याडमिन्टनमा प्रकाश र शंकरको जोडी ‘च्याम्यिपन’



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ मा भएको वडा स्तरीय लेभल ए र लेभल बि ब्याडमिन्टन प्रतियोगितामा प्रकाश सेन र शंकर भाट(क्षेत्री) को जोडी च्याम्पियन बनेको छ ।

महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा मुहान ब्याडमिन्टन क्लव झुँगाको केन्द्र चौपारीमा राति १ बजे सकिएको लेभल ए को खेलमा प्रकाश सेन र लाल बहादुर श्रेष्ठको जोडीले राम सेन र सरोज मल्लको जोडीलाइ २–१ को सेटमा पराजित गरेको हो । करिब पाँच सय दर्शकको माझमा जित हासिल गर्न प्रकाशको जोडीलाई निकै संघर्ष गर्नुपर्यो ।

पहिलो सेट शानदार ढंगले आफ्नो पक्षमा पारे पनि दोश्रो सेटमा भने राम सेनको जोडीले पुनरागमन गर्दै सेट आफ्नो कब्जामा पार्यो । एकएक सेट जितेर उच्च आत्म बलका साथ दुवै जोडी कोर्टमा प्रवेश गरे । तर तेश्रो सेटमा नतिजा भने प्रकाशको जोडीमा नै पुग्यो ।प्रकाशको जोडीले दोश्रो सेटमा भोगेको हारको बदला लिँदै खेल आफ्नो पक्षमा मात्रै पारेन च्याम्पियन बन्दै नगद रु १० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भयो । कोसिस गरे पनि रामको जोडीले अन्त्यतिर लय गुमाउँदा उपविजेतामा सिमित हुँदै ५ हजार, ट्रफी र मेडल पाए ।

राति नै भएको लेभल बी अन्तर्गतको खेलमा पनि संघर्षपूर्ण जित हासिल गर्दै शंकर र बिनोद क्षेत्रीको जोडी च्याम्पियन बन्यो । बाबुराम ठकुरी र लक्षुमनको जोडी फाइनल सेटमा स्तब्ध हुँदै उपविजेतामा सिमित भए । पहिलो सेट शंकर जोडीले आफ्नो पक्षमा पार्यो भने दोश्रो सेटमा हारको बदलालिँदै बाबुरामको जोडीले जित हासिल गर्यो ।

एकएक सेट जितेका दुवै जोडी दर्शकको तालिसंगै कोर्टमा छिरे । दोश्रो हाफको मध्यान्तरसम्म प्रतिस्पर्धात्मक खेल भइरहे पनि त्यसपछि भने बाबुरामको जोडीले लय गुमाउँदा २१ १३ को सेटमा हार खायो । विजेताले ५ हजार, ट्रफी र प्रमाण पत्र पाए पनि दोश्रो हुने जोडीले २५ सय मेडल र प्रमाण पत्र पाए ।

दुवै समुहका विजेता र उपविजेतालाई मुहान युवा क्लवका अध्यक्ष रविन्द्र प्रताप सेन, समाजसेवी रनेन्द्र प्रताप सेन,राजु सेन, वरप्रताप सेन क्लवका सल्लाहाकार राजन सेन, खेल संयोजक प्रकाश सेन, पहिलो पुरस्कार सौजन्यकर्ता नरेश कुँवर र दोश्रो पुरस्कार सौजन्यकर्ता कृष्ण पराजुलीले पुरस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगितामा ए र बी लेभल गरी वडा नम्बर ४ का २५ बढी जोडीले भाग लिएका क्लवले जनाएको छ ।

यसैबीच दुवै समुहका विजेता र उपविजेता खेलाडीले जितेको रकम झुँगामा निर्माणधिन दुर्गा मन्दिरको अपुरो निर्माणलाई पुरा गर्न सहयोग गरेका छन् । सो रकम मन्दिर निर्माण समितिका अध्यक्ष अर्बिन मल्ल ठकुरीले ग्रहण गर्नु भएको थियो । क्लवले दशैँको समयमा पनि फुटवल या ब्याडमिन्टन प्रतियोगिता राख्ने जनाएको छ ।

खेलको कमेन्ट्रि तथा पुरस्कार वितरण समारोहको संचालन क्लवका मिडिया संयोजक चन्द्रकान्त न्यौपानेले गर्नु भएको थियो । दुई दिनसम्म चलेको खेलमा फाइनल अफिसियलमा अशोक उच्चै र अमृत ठकुरी हुनुहुन्थयो । राइजिङ प्लेयरको उपाधि भने लेभल बी का महेश पौडेलले पाएका मुख्यरेफ्री अमृत ठकुरीले बताउनु भयो ।

प्रकाशित मिति : २० भाद्र २०७८ आइतबार ००:००  ११ : २७ बजे