४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अफगानिस्तानमा महिलाहरुको प्रदर्शन रोक्न तालिबानद्वारा अश्रुग्यास प्रहार



काठमाण्डौ ।

सरकारमा सहभागी हुन पाउने माग गर्दै अफगानिस्तानमा महिलाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनलाई रोक्नका लागि तालिबानले अश्रुग्यास र खुर्सानीको धुलोको स्प्रे बनाएर प्रहार गरेका छन् । प्रदर्शन नियन्त्रण भन्दा बाहिर गएकाले यस्तो गर्नुपरेको तालिबानले बताएको बीबीसीले जनाएको छ ।

कामको लागि समान अधिकार र सरकारमा सहभागी हुन पाउनु पर्ने माग गर्दै तालिबानी शासनको त्रासबीच नै महिलाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति भवन अगाडि प्रदर्शन गरेका हुन् । अब बन्ने मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्रह गरेको पर्चा बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै संसारभरबाट त्यहाँका महिला र बालबालिकाको अवस्थाबारे चिन्ता व्यक्त गरिरहेकै समयमा त्यहाँका केही महिलाले प्रदर्शन गर्ने आँट गरेका हुन् । बीस वर्ष अगाडिको तालिबानी शासनमा महिलामाथि गरिएको बर्बर अत्याचारको त्रासमा परेका महिलाहरुले यस पटक त्यस्तो नहोस् भनिरहेका छन् ।
त्यसबेला सबै महिलाले पूरै शरीर ढाक्ने बुर्का अनिवार्य लगाउनुपर्नेदेखि दश वर्षमाथिका बालिकालाई विद्यालय जानसमेत रोक लगाइएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७८ आइतबार ००:००  ८ : २२ बजे