४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एकताको वातावरण बन्दै गर्दा माधव नेपालले एकलौटी रुपमा नयाँ पार्टी दर्ता गरे-भीम रावल



काठमाडौं ।

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टी एकताको वातावरण बन्दै गर्दा माधव नेपालले एकलौटी रुपमा नयाँ पार्टी दर्ता गरेको आरोप लगाएका छन्। अछामका एमाले नेता कार्यकर्तासँग काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘हामीले पार्टी अध्यक्ष ओलीसँग कुराकानी गरेर माधव जीसँग वार्ता गर्न तयार बनाएका थियौँ। तर, माधवजीले भित्रभित्रै हस्ताक्षर संकलन गरेर नयाँ पार्टी बनाउनुभएछ, पार्टीभित्र आलोचना र विरोध हुन्छ। त्यसो हुँदैमा पार्टी फुटाउनुपर्ने अवस्था आउँदैन।’

माधव नेपाललाई पार्टीको दोस्रो अध्यक्ष बनाएर समेत ओली एकता जोगाउन तयार भएको रावलले बताए। उनले भने, ‘उहाँले नेपाललाई दोस्रो अध्यक्ष मान्न तयार हुनुभयो। वार्ताको वातावरण बनायौँ तर, हुन सकेन, पछि उहाँले अध्यक्ष बन्दिनँ भन्नुभयो।’
विवाद समाधान कार्यदललाई दोस्रो अध्यक्ष बनाउने भन्ने कार्यादेश नै नभएको उनको भनाइ थियो। ओली र नेपाललाई एक एक बुँदा पढेर सुनाएर १० बुँदे सहमति भएको दाबी गर्दै रावलले शीर्ष नेताहरुकै कारणले एकताको वातावरण नबनेको आरोप लगाए। प्रतिबद्ध भएर पार्टी एकताको पक्षमा लाग्न निर्देशन दिए।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार भागबण्डा नै नमिलेको कारणले ५० दिनसम्म सरकारलाई पूर्णता दिन नसकेको आरोप लगाए। दार्चुलामा तुइन प्रकरणमा सरकार आफ्नो भूमिका देखाउन नसकेको बताए। सरकारले भारतसँग कुनै कुटनीतिक पहल समेत गर्न नसकेको बताए।

प्रकाशित मिति : १९ भाद्र २०७८ शनिबार ००:००  ४ : १७ बजे