४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

नयाँ जनादेशमा जानु लोकतन्त्र र संविधानको रक्षा गर्नु होः ​टोपबहादुर रायमाझी



काठमाडौं ।

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरेर नयाँ जनादेशमा जान खोज्नु लोकतान्त्रिक कदम भएको दाबी गरेका छन्।

काभ्रेको बनेपामा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले भने, ‘केपी ओली नेतृत्वको सरकार जनताप्रति उत्तरदायी थियो। नयाँ जनादेशमा जानु लोकतन्त्र हो। तर, त्यसलाई साथीहरुले प्रतिगमन भने। नयाँ चुनावमा जानु लोकतन्त्र र संविधानको रक्षा गर्नु हो।’

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई संकेत गर्दै रायमाझीले विपक्षीको पुच्छर समातेर हिँडेको आरोप लगाए। नेता रायमाझीले भने, ‘केही नेताहरुले विपक्षी दलको नेतालाई समातेर पुच्छर बनेर हिँडिरहेका छन्। संसदलाई ध्वस्त गरेर परमादेशको सरकार आयो।’

नेकपादेखि एमाले फुटाउने सम्मको हर्कत गर्नेले इतिहासमा माफी नपाउने उनको भनाइ छ। संविधान र लोकतन्त्रको औचित्यलाई समाप्त पारेको उनले आरोप लगाए। एमाले फुटाउनका लागि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको बताए। ‘सर्वोच्च अदालतले एमाले एमालेमै, माओवादी माओवादीमै जाओ भन्यो। तर, हामीले मानेनौँ। ओली नेतृत्वमै रहिरह्यौँ’ उनले भने। अब देशमा पार्टी भनेको एमाले र कांग्रेस मात्रै हुने उनले दाबी गरे। १० बुँदे सहमतिलाई कार्यान्वयन गरेर पार्टी एकतालाई असर नपर्नेगरी लाग्न उनले निर्देशन दिए।

प्रकाशित मिति : १९ भाद्र २०७८ शनिबार ००:००  २ : २६ बजे