४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

काबुलमा गोली लागेर १७ जनाको मृत्यु, ४१ घाइते



एजेन्सी ।

अफगानिस्तानमा गोली लागेर कम्तीमा १७ जनाको मृत्यु भएको छ । राजधानी काबुलको एक आपत्कालीन अस्पतालका अनुसार गएराति तालिवानले हावामा चलाएको गोली लागेर १७ जनाको मृत्यु भएको र थप ४१ जना घाइते भएका छन् । शुक्रबार राति करिब ९ बजे अफगानिस्तानको आकाशमा व्यापक रूपमा हावामा गोलाबारी भएको थियो । हावामा गोली चलाएर तालिवानले विजयउत्सव मनाएको हुन सक्ने आशंका गरिएको यहाँको समाचार संस्था तोलो न्युजलाई उदृत गर्दै अलजजिराले उल्लेख गरेको छ । उक्त फायरिङ किन गरिएको थियो भन्ने वास्तविक कारण भने अझैसम्म खुलिसकेको छैन । यस विषयमा तालिवानले पनि कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

विजयउत्सव मनाउनका लागि हावामा फायर गर्ने अफगानिस्तानको परम्परा मानिन्छ । गत अगस्ट ३१ मा अमेरिकाले पूर्ण रूपमा आफ्ना सेना फिर्ता गरेपछि पनि तालिवानले उत्सवका लागि गोलाबारी गरेको आधिकारिक रूपमा पुष्टि पनि गरेको थियो । पछि तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्विटरमार्फत मानिसहरूले हवाई फायर गर्नुभन्दा पनि भगवान्लाई धन्यवाद दिनुपर्ने बताउँदै हवाई फायरमा प्रतिबन्ध लगाएको बताएका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७८ शनिबार ००:००  १ : ५६ बजे