३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

एमालेको दोश्रो पुस्ता ओलीका दास हुन्, सत्य बोल्न डराउँछन्ः चक्रपाणी खनाल



मायादेवी अनलाइन, बुद्धभूमि ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एंव लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनालले नेकपा विभाजन अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको स्वार्थमा भएको बताउनुभएको छ । कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने आवश्यक्ता र चाहना देश, जनता र कार्यकर्ताहरुमा रहदा रहदै पनि अदालतको सेटिङबाट पार्टी विभाजन हुन पुगेको उहाँले जिकिर गर्नुभयो । ओलीको तानाशाही बिचमा पनि क्रान्तिकारी धारले सशक्त प्रतिकार गर्दै पार्टी फुटबाट रोक्दै आएको तर ओली स्वयंको चाहना र विदेशी शक्तिको स्वार्थ मिलेकै कारण अदालतबाटै पार्टी फुटाइएको बलदेवले दाबी गर्नुभयो ।

प्रेस संगठन नेपाल कपिलवस्तु जिल्ला भेलालाई सम्बोधन गर्दै प्रदेश इन्चार्ज बलदेवले पार्टी विभाजन पछि माओवादी केन्द्र थप शक्तिशाली बनेको र केही अवसरवादी र पार्टी ध्वस्त पार्ने धमिराहरु उतै टासिएको टिप्पणी गर्नुभयो ।

उहाँले संविधानमा उल्लेख गरिएको समाजवाद तर्फ माओवादीले कांग्रेस, जसपा, नेकपा (एस) लगायतलाई डोरयाएर लाने समेत ठोकुवा गर्नुभयो । बलदेवले केपी ओली प्रतिगमनको मतियार भएकै कारण एमाले विभाजनको चरणमा पुगेको बताउदै आज ओली नेतृत्वको एमाले दासहरुको जमात भएको आरोप लगाउनुभयो ।

“नेकपा एक हुँदा र फुटदा र अहिले फेरी पनि एमाले फुट्दा जुन दोश्रो पुस्ता भनिएका छन ति सबै ओलीका दास हुन्” उहाँले भन्नुभयो । अलिकति पनि विरोध गर्ने, प्रतिकार गर्ने र गलतलाई गलत भन्ने सम्म आट छैन, सत्य बोल्न डराउने दोश्रो पुस्ताको तानाशाही ओली प्रवृत्तीका पुच्छर भएरै माखा धपाउने बाहेकको काम नहुने नेता बलदेवको टिप्पणी छ ।

फरक प्रसंगमा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहनुभएका सांसद खनालले प्रेस संगठनका पत्रकारहरुले पार्टीका नेतृत्वमा बढदै गरेको गलत प्रवृत्तीको खुलेर विरोध गर्न आग्रह गर्नुभएको छ । “आखाँ चिम्लेर सर्मथन गर्नु आवश्यक छैन, गलत छ लेखिदिने, सुधारको लागि औल्याउने बल्ल पार्टी ठिक ढंगबाट हिड्छ” उहाँले भन्नुभयो ।

प्रेस संगठन कपिलवस्तुको संयोजकमा बेल्बासे

पे्रस संगठन नेपाल कपिलवस्तुको शुक्रबार बसेको भेलाले पत्रकार अर्जुन बेल्बासेको संयोजकत्वमा ३१ सदस्सीय अधिवेशन आयोजक समिति चयन गरेको छ । कपिलवस्तुको गोरुसिंगेमा आयोजित जिल्ला भेलाले अर्जुन बेल्बासे संयोजक र सदस्यहरुमा शैलेन्द्र श्रेष्ठ, राजेश चौधरी, विक्रम विश्वकर्मा, भुपाल थापा, कमल बन्जाडे, सूर्य गुरुङ्ग, पिताम्बर घिमिरे (हरी), रमेश गैरे, प्रताप ज्ञवाली, भगवती न्यौपाने, शहबाज खान, बलवन्त गुप्ता, मनिश गुप्ता, अनेक पाण्डेलाई सदस्य चयन गरेको छ । यसै गरि शैलेन्द श्रीमाल, भुपेश थापा, जमुना शाह, माधव बन्जाडे, दिपक भण्डारी, प्रभात न्यौपाने, दिलु परियार, सुहाना लामा, गोमा राई र सुरक्षा चौधरी रहेका छन् ।

अधिवेशन आयोजक समितिलाई भेलाका प्रमुख अतिथी माओवादी केन्द्रका स्थायी समिति सदस्य चक्रपाणी खनालले अबिर, खादा लगाई बधाई दिनुभएको थियो । उहाँले सबै पत्रकारले स्थानीय जनताको दुखः पीर मर्काको विषयवस्तुलाई समाचार बनाउनुपर्नेमा जोड दिनुभएको थियो । भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र कपिलवस्तुका संयोजक रामचन्द शाहले स्थानीय तह अनुसार संगठनलाई विस्तार गर्दै जिल्लामै प्रेस संगठनलाई थप मजबुद पार्दै लैजान निर्देशन दिनुभयो । संगठनले पार्टीलाई उचित सल्लाह सुझाव दिदै रचनात्मक आलोचना समेत गर्न आग्रह गर्नुभयो । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य रुद्रलाल बन्जाडेले श्रमजीवी जनताको पक्षमा पत्रकारको कलम चल्नुपर्ने र स्थानीय तह देखि केन्द्रसम्म हँुदै आएका भ्रष्टाचार विरुद्ध धावा बोल्न आग्रह गर्नुभयो ।

यसै गरि प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश संयोजक मानसिंह विकले पत्रकार मोर्चा पार्टीको शशक्त मोर्चा भएपनि पार्टीले खासै वास्ता नगरेको आरोप लगाउनुभयो । पत्रकार मोर्चाले पार्टीका सिद्धान्त, विचार र आस्थालाई जनता सम्म पुरयाउने कार्य गरिरहेको बताउदै आवश्यक परे जुनसुकै मोर्चामा जान पत्रकारहरु तयार रहेको बताउनुभयो । भेलाको अध्यक्षता गरिरहनुभएको प्रेस संगठनका जिल्ला संयोजक डिलाराम भुसालले अब पत्रकारहरु आफु रुपान्तरित हुनुपर्ने बेला आएको बताउदै पत्रकारहरुले आफ्नो आचरणमा व्यापक सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द जिल्ला समन्वय समिति सदस्य सरोज खनाल, नारायण भुसाल, बसन्त गिरी, नेपाल पत्रकार महासंघ कपिलवस्तु उपाध्यक्ष स्ेवता गिरी, वाइसिएल केन्द्रिय सदस्य शिव बन्जाडे, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष हरिषचन्द्र खनालको आतिथ्यता रहेको थियो । भेलामा प्रेस संगठनमा आबद्ध ६१ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

सिपी शर्मा पत्रकारिता पुरस्कार बेल्बासेलाई

यसै गरि प्रेस संगठन नेपाल कपिलवस्तुले बर्षेनी प्रदान गर्दै आइरहेको पत्रकार सिपी शर्मा स्मृती पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार अर्जुन बेल्बासेलाई सम्मानित गरिएको छ । प्रेस संगठन नेपाल कपिलवस्तुको शुक्रबार गोरुसिंगेमा भएको भेलामा बेल्बासेलाई नगद १५ हजार सहित पुरस्कृत गरिएको हो । उहालाई भेलाका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एंव लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनालले प्रमाणपत्र, नगद र दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो।

भेलामा सहभागी सबै अतिथीहरुले थप शशक्त भएर पत्रकारिता गर्न आग्रह गर्नुभएको थियो । तत्कालिन क्रान्तिकारी पत्रकार संघको अध्यक्ष रहेकै बेला २०६६ सालमा पत्रकार सिपी शर्माको सडक र्दुघटनामा निधन भएको थियो । सोहि सम्झनामा संगठनले बर्षेनी सिपी शर्मा स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८ शनिबार ००:००  ६ : ३९ बजे