३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

राजीनामा दिँदै वामदेवले लगाए ओलीमाथि यी आरोप



काठमाडौं ।
एमाले उपाध्यक्ष पदबाट राजीनामा दिएका वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाएका छन् । राजीनामापत्रमा उनले संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधिसभाको निर्वाचन २०७४ मा एमाले र नेकपा (माओवादी केन्द्र) को साझा घोषणापत्रलाई ओलीले कार्यान्वयन नगरेको तथा सरकारको कामलाई पटकपटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि सुधार गर्न नसकेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, “म आफैँ सङ्लग्न भएर निर्माण भएको नेकपा (एमाले) मा तपाइँकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिबाट पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।”

राजीनामापत्रमा जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीका विचार र मान्यता संविधानको सर्वोच्चता र कानूनी राज्यको सिद्धान्तलाई पालना नभएको, कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यताका विपरित जनताको अत्याधिक बहुमतलाई लत्याउँदै २०७५ पुस ५ र २०७८ जेठ ७ गते दुई दुई पटक संविधान विपरित जनताद्वारा निर्वाचित सदन भङ्ग गरिएको उल्लेख छ ।

अध्यक्ष र प्रधानमन्त्री भएपछि पार्टीको राजनीतिक कार्यदिशा, विधान तथा पार्टीको सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी पालना नभएको आरोप लगाउँदै नेता गौतमले पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि आफूले लिखित सुझाव दिएको बताएका छन् । ओलीले आफना समकक्षीलाई एकपछि अर्को गरी अपमान गर्ने, कारवाही गर्ने र पार्टीबाट निष्काशनजस्ता स्वेच्छाचारी तथा निरङ्कुश काम गरेको पनि गौतमले आरोप लगाएका छन् ।

त्यतिमात्र होइन राष्ट्रपतिसमेतलाई आफना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णय कार्यान्वयन गर्न दुरुपयोग गर्ने काम ओलीले गरेको वामदेवको आरोप छ । राजीनामा पत्र गौतमले आज पार्टी केन्द्रीय कार्यालय थापाथलीमा दर्ता गराएका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७८ शनिबार ००:००  ६ : ०५ बजे