३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुने दर १२ प्रतिशत नजिक



काठमाण्डौ ।
नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुने दर १२ प्रतिशतको नजिक झरेको छ । गएको २४ घण्टामा १४ हजार तीन सय ३४ वटा नमुना परीक्षण गर्दा एक हजार सात सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यो पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १२ दशमलव २५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमण पुष्टि हुने दर घटिरहेको छ ।

अघिल्लो महिनासम्म २५ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण देखिने गरेकोमा केही हप्तादेखि सङ्क्रमण दर घटिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ५१ हजार ६ सय ६४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ७४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख २३ हजार चार सय ५६ जना पुगेको छ ।

यही अवधिमा थप २३ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार आठ सय नौ पुगेको छ ।

अहिले नेपालमा ३३ हजार ६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये पाँच सय ४० जनाको आईसीयू र एक सय ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८ शुक्रबार ००:००  ४ : ४३ बजे