३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

अर्घाखाँचीः नेपाली काङ्ग्रेसको वडा अधिवेशनमा रस्साकस्सी



बिष्णु कुमार आले, अर्घाखाँची ।
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया शुक्रबार वडा अधिवेशनबाट सुरू हुँदै छ । वडाबाटै आफ्ना प्रतिनिधि निर्वाचित गर्न संस्थापक र अर्का पक्षका केन्द्रीय नेताहरू लागि परेका छन् । वडा तहबाट छानिने प्रतिनिधीले महाधिवेशनको नतिजामा प्रभाव पार्ने भएकाले नेताहरू तल्लो तहबाटै सक्रिय बनेका छन् ।

वडा अधिवेशनलाई आफु अनुकुल बनाउन केन्द्रीय तहका धेरै जसो नेताहरू गृह जिल्ला पुगेका छन् । बरिस्ठ नेता रामचन्द्र पौडेलले वडा अधिवेशनलाई लक्षित गरेर हिजो आफ्नो समूहबाट सभापतिका लागि एकमात्र उम्मेदवार हुने उद्घोष गरेका छन् । सभापतिमा उम्मेदवार दिने अनौपचारिक घोषणा गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफ्नो प्यानल बलियो बनाउन सात वटै प्रदेशमा आफू निकट केन्द्रीय सदस्यहरूलाई खटाएका छन् ।

वडा अधिवेशन एकैदिन सम्पन्न गर्ने कार्यतालिका तय भए पनि काठमाडौ सहित दुई दर्जन बढि जिल्लामा आज अधिवेशन नहुने भएको छ । देशका २१ जिल्लामा सदस्यता विवाद अझै टुंगो लागिसकेको छैन । वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहने कांग्रेस विधानको व्यवस्था छ ।

वडा अधिवेशनबाट वडा कमिटी चयन हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । यसैबीच कांग्रेस नेता गगन थापाले आसन्न महाधिवेशनमा पौडेल समूहबाट महामन्त्री पदमा आफुले उम्मेदवारी दिने संकेत गरेका छन् ।

अर्घाखाँचीमा १९ वडामा सर्वसहमतीबाट वडा सभापति चयन

अर्घाखाँचीको ६१ वडाहरू मध्ये १९ ओटा वडाहरूमा सर्वसहमतीबाट वडा सभापति चयन भएको नेपाली काङ्ग्रेसको जिल्ला सभापति बिष्णुप्रसाद खनाल (मुस्कान) ले बताए । उनले सर्वसहमती जुट्न नसकेका ४२ वटा वडाहरूमा पनि सर्वसहमतीबाटै टुंगो लगाउने प्रयास भैरहेता पनि वडा सभापतिको आकांक्षी धेरै भएकाले समस्या भएको बताए ।

उनले भने, ‘आज टुंगो लगाउन नसकिए पनि भोलिसम्म सबै वडामा वडा सभापति चयन गर्ने बिषय टुंगो लाग्ने छ । वडामा भएका क्रियाशिल सदस्यताको आधारमा न्युनतम १६ जना देखि अधिकतम ४६ जना सम्म क्षेत्रीय प्रतिनिधि छनौट हुने छन् । वडा अधिवेसनमा युवाहरू भन्दा पनि ६५ बर्ष माथिका वडा नेतृत्वमा आउने देखिएपछि युवापुस्तामा असन्तुष्टि देखिएको छ ।’

शुक्रवार हुने वडा अधिवेशनको चहलपहल तीव्र देखिएको छ। चोक–चोक पाटी–पौवा, चौतारो, चियापसल सर्वत्र अधिवेशनकै चर्चा-परिचर्चा छ । नयाँ नेतृत्व आउने भएपछि आफ्नै पार्टी र अन्य पार्टीलाई समेत चाँसोको विषय बनेको छ।

पालिका र जिल्ला अधिवेशनको मिति नजिकिदै गर्दा वडामा नेतृत्वका लागि रस्साकस्सी बढेको छ। जिल्लाका ६ ओटा पालिका सभापतिका लागि पनि निकै रस्साकस्सी देखिएको छ । जिल्लाका प्रत्येक पालिकाहरूमा सभापति पदका लागि ३ जना देखि ९ जनासम्म आकांक्षी देखिएका छन् । पालिका सभापतिमा आकांक्षी धेरै देखिएपछि टुंगो लगाउन समस्या हुने देखिएको छ । वडा सभापति लगायत विभिन्न पदका प्रत्यासीहरु उम्मेदवार घोषणा गर्दै आफ्नो पक्षमा माहोल मिलाउन दौडधुपमा जुटेका छन् । विभिन्न पेशा, व्यावसाय, रोजगारको शिलशिलामा काठमाडौं, बुटवल, दाङ लगायत जिल्ला बाहिर रहेका कांग्रेस निकटका कार्यकर्ता नेताहरू आफ्नो जिल्ला फर्किएर आफु निकटका पक्षमा मत जुटाउने पक्षमा कसरत गरिरहेका छन् ।

काङ्ग्रेसको क्रियाशिल सदस्यमा रौनकता देखिन्छ। उनीहरु सहमतीबाट नेतृत्व छान्ने, नभए निर्वाचनमा होमिने तयारीमा देखिन्छन्। सन्धिखर्क नगरपालिकाका १२, शितगंगा नगरपालिकाका १४, भूमिकास्थान नगरपालिकाका १०, पाणिनी गाउँपालिकाका ८, मालारानी गाउँपालिकाका ९ र छत्रदेव गाउँपालिकाका ८ वटा वडा गरी जिल्लाका ६१ वडामा शुक्रबार वडा सभापति पदको निर्वाचन हुँदै छ ।

निर्वाचन पछि वडाले नयाँ नेतृत्व पाउनुका साथै क्षेत्रिय प्रतिनिधी समेतको टुङ्गो लगाउने छ। जिल्लाभरबाट १ हजार ३ सय भन्दा धेरै क्षेत्रिय प्रतिनिधी निर्वाचित हुनेछन्। सन्धिखर्कबाट २ सय ८२, शितगंगाबाट २ सय ४४, भूमिकास्थानबाट १ सय ८०, मालारानीबाट १ सय ७४, पाणिनीबाट २ सय १८ र छत्रदेवबाट २ सय ४८ जना क्षेत्रिय प्रतिनिधी निर्वाचित हुनेछन् ।

वडा अधिवेशनको लागि निर्वाचन अधिकृत र मतदान अधिकृत सबै वडामा पुगिसकेका छन् । जिल्लामा १२ हजार २ सय ६९ जना कांग्रेसका क्रियाशील सदस्यहरुले वडा अधिवेशनमा भाग लिंदै छन्। कांग्रेसको संशोधित विधान अनुसार क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् भने निर्वाचन क्षेत्र (प्रदेश र प्रतिनिधिसभा) कमिटी चयनका लागि पनि क्षेत्रीय प्रतिनिधिले मत हान्ने छन् ।

केन्द्रीय महाधिवेशनका लागि मतदाता रहने महाधिवेशन प्रतिनिधिको चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने भएकाले कांग्रेसमा वडा अधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ ।

पालिकाको अधिवेशन भदौ २७ गते, प्रदेश क्षेत्र क र ख को अधिवेशन असोज १ गते हुनेछ । संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते गरिने कार्यतालिका बनेको छ।

जिल्ला अधिवेशन असोज १० का लागि निर्धारण गरिएको छ। यस्तै प्रदेश समितिको अधिवेशन कार्तिक १० देखि १२ गते हुने तय भएको छ भने केन्द्रीय अधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुने छ । देशभरबाट नेपाली काग्रेसका ८ लाख भन्दा बढि क्रियासिल सदस्यहरूले वडा अधिवेशनमा भाग लिदै छन् । विधान अनुसार २०७६ फागुनमै हुनुपर्ने कांग्रेसको महाधिवेशन पाँच वर्ष ६ महिना पछि सुरु हुन लागेको हो ।

प्रकाशित मिति : १८ भाद्र २०७८ शुक्रबार ००:००  १२ : २९ बजे