३ चैत्र २०८१, सोमबार | Tue Mar 18 2025

१० बुँदेमा कुनियत लुकेको थियो, भ्रममा पर्न जरुरी छैनः माधवको जिकिर



काठमाडौं ।

नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले १० बुँदेभित्र कुनियत लुकेको भन्दै त्यसको भ्रममा नपर्न जनप्रतिनिधि र कार्यकर्तालाई आग्रह गरेका छन् ।

बिहीबार सिंहदरमा स्थापित संसदीय दलको नयाँ कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले १० बुँदेकै आधारमा भ्रम पैदा गर्न र अलमल्याउन खोजेको अरोपसमेत लगाए ।

‘केपी ओलीका मान्छेले भ्रम पैदा गर्ने कोसिस गरेका छन्, अलमल्याउन खोजिरहेका छन्,’ उनले भने, ‘कुनै पनि भ्रममा कोही पर्न जरुरी छैन । १० बुँदेको भ्रममा पनि पर्न जरुरी छैन । १० बुँदे २७ गते राति सही नगरी नहुने के बाध्यता थियो रु २८ गतेका सर्वोच्च अदालतको फैसला प्रभावित पार्ने कुनियत लुकेको थियो ।’

एमालेभित्रको विवाद समाधान गर्न गठित कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावको स्वामित्व नलिको नेपालले यसबारे कुनै भ्रममा नपर्न आग्रह समेत गरे । ‘प्रदेश सांसद, स्थानीय प्रतिनिधि र कार्यकर्ता कोही पनि १० बुँदेको भ्रममा पर्न जरुरी छैन,’ नेपालले भने, ‘यसबारे गरिएको अपव्याख्याको भ्रममा नपर्न म आग्रह गर्न चाहान्छु ।’

अर्को एक फरक प्रसंगमा उनले माओवादी केन्द्रसँग एकता नगर्ने पनि दोहोर्‍याए । ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु,’ नेपालको भनाइ छ, ‘हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो ।’

प्रकाशित मिति : १७ भाद्र २०७८ बिहिबार ००:००  २ : ५९ बजे