३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

छिट्टै सरकार बनाउने तालिबान समूहको भनाइ



काठमाण्डौ ।

अफगानिस्तान कब्जा गरेका तालिबान विद्रोहीले अब छिट्टै सरकार निर्माण गर्ने जनाएका छन् । उनीहरूका अनुसार सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता हिजो बुधवार सकिएको छ । यसपछि अब छिट्टै नै नयाँ सरकार निर्माण गरिने जानकारी तालिबानका नेताले दिएका छन् । उनीहरूले सरकार बनाउने सम्बन्धमा नै राजनीतिक भेटघाटलाई तीव्र बनाएका थिए ।

अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमले तालिबान समूहका नेताले आउँदो केही दिनमा नै सरकार बनाउने कुरा बताएको जनाएका छन् ।
तालिबानले सत्ता कब्जा गरेपछि सरकार बनाउने विषयमा विभिन्न चरणमा विभिन्न नेतासँग छलफल गरेका र ती छलफल बुधवार सकिएको अफगानिस्तानका सञ्चारमाध्यमले जनाएका छन् ।

ताबिलानका एक प्रमुख नेता मुल्लाह हबितुल्लाह अखुन्जादाले केही दिनअघि अफगानिस्तानका नेतासँग सरकार बनाउने विषयमा छलफल गरेका थिए । उनले अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईसँग पनि परामर्श गरेका थिए । पूर्वराष्ट्रपति कारजाईले तालिबानका वरिष्ठ नेता अब्दुल्ला अब्दुल्लासँग पनि भेटवार्ता गरेका बताइएको थियो ।

केही दिनअघि नै सरकार बनाउनका लागि भन्दै तालिबानका एक नेता अनस हक्कानी पनि अफगानिस्तानको राजधानी काबुल पुगेका थिए ।
यी नेताका भेटवार्तामा अफगानी उच्च सदन सिनेटका अध्यक्ष अब्दुल हादी मुस्लियार पनि सहभागी रहेका बताइएको थियो । अफगानिस्तानमा संयुक्त र सर्बपक्षीय सरकार बनाउने विषयमा छलफल भएको तालिबान नेताहरूले नै बताउँदै आएका छन् ।
उता अफगानिस्तानको अहिलेको अवस्थाको मध्यनजर गरेर यहाँका नागरिकका लागि आवश्यक सहयोग गर्न पाकिस्तानलगायतका विश्वका विभिन्न देशले आग्रह गरेका छन् ।

यतिखेर अफगानिस्तानको अवस्था अत्यन्तै नाजुक रहेको र अहिले यो देश नयाँ मोडमा उभिएकाले आउँदा दिनमा यहाँका नागरिकको सहयोग तथा अन्य व्यवस्थाका लागि विश्व समुदाय एक हुनुपर्ने पाकिस्तानका विदेश मन्त्रीले बुधवारमात्र बताउनुभएको थियो ।

कतिपय पश्चिमा तथा युरोपेली देशले अफगानिस्तान अहिले मानवीय सहायताको पर्खाइमा रहेको भन्दै यहाँका नागरिकलाई आवश्यक मात्रामा सहयोग गर्नका लागि विश्व समुदाय एक हुनुपर्नेमा जोड दिएका छन् ।

तालिबानी समूहका प्रवक्ता जबिउल्लाह मुजाहिदले गएको हप्तामात्र अफगानिस्तानमा सबै पक्षलाई समेटेर समावेशी खालको सरकार निर्माण हुने बताएका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७८ बिहिबार ००:००  २ : २९ बजे