३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मन्त्रिपरिषद् विस्तारबारे भदौ २३ सम्म कसैले चुइँक्क बोल्दैनः अध्यक्ष नेपाल



काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौ २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको बताएका छन् ।
अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भए पनि त्यसबारे छलफल नभएको पनि बताए । बिहीबार बिहान अध्यक्ष नेपालले दाहालसँग भेट गरेका थिए । सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा २२-२३ गतेसम्म त मन्त्रिपरिषद विस्तारका बारेमा कसैले चुँइक्क पनि नबोल्ने बताए ।

सत्तारुढ दलभित्रको विवादका कारण मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको चर्चा भइरहँदा अध्यक्ष नेताले मन्त्रिपरिषद् विस्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरुबीच छलफल हुने प्रतिक्रियासमेत दिए । उनले भने, ‘मन्त्रिपरिषद् विस्तारका विषयमा २२-२३ गतेसम्म त कसैले पनि चुँइक्क बोल्दैन । त्यसबारेमा अहिले केही चर्चा हुँदैछ । हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं ।’
अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेशसभाका सांसदसहितका जनप्रतिनिधिहरुलाई आह्वान गरेका छन् । केपी ओली र उनका मान्छेहरुले दस बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उनले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकता नगर्ने पनि दोहोर्‍याएका छन् । क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलीन हुने भ्रम नछर्न पनि उनले सचेत गराएका छन् । नेता नेपालले भने, ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलीन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढन सफल हुने दाबीसमेत गरे । यसैबीच, नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालले पनि बिहीबार नै सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७८ बिहिबार ००:००  २ : १२ बजे