३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

स्काइलार्क स्कुलको मञ्चबाट मेयर थारुले भने ‘अब बाणगंगाका विद्यालय खुल्छन्’



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगल प्रसाद थारुले अब नगरका विद्यालय भौतिक रुपमै सुचारु हुने बताउनु भएको छ । लामो समय बालबालिका विद्यालय जान नपाएकोमा अभिभावक र विद्यालयको दबाब विद्यालय खोल्नु रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खुलाउनुको विकल्प नभएको नगरप्रमुख थारुले बताउनु भयो ।

वडा नम्बर ११ को स्काईलार्क बोर्डिङ स्कुलले राखेको तिनदिने मन्टेश्वरी शिक्षक तालिम तथा वर्कसपको उद्घाटन गर्दै नगर प्रमुख थारुले भौतिक रुपमै नगरका विद्यालय खुलाउने तयारी भइरहेको जानकारी गराउनु भयो ।

डिसिसिएमसीको निर्देशन अनुसार नगरका शिक्षकले समुदायमा गई कोरोनाको अवस्था पहिचान गरिसकेको र विद्यालय खोल्दा ठिक हुने रिपोर्ट ल्याइसकेको हुँदा अब चाँडै विद्यालय खोलिने उहाँको भनाई छ ।

यद्यपी विद्यालय भने सिकाइ केन्द्रको रुपमा सिमिति विद्यार्थी राखेर चल्ने छन् । उहाँले भन्नुभयो ‘एकैपटक धेरै विद्यार्थी नभएर समुह बर्गिकरण गरी बालबच्चालाई राखेर अबको पठनपाठन अगाडी बढाउनु पर्छ । विद्यालयमा मास्क सेनेटाइजर अनिवार्य हुनुपर्दछ र सामाजिक दुरी पनि कायम भएको हुनुपर्ने छ । सरोकारवालासंगको पटकपटकको छलफलपछि नगर यस्तो निर्णयमा पुगेको पुगेका हौँ ।’

कार्यक्रममा वडा नम्बर ११ का अवडाध्यक्ष सोमनाथ अर्यालले पनि विद्यालय खोल्न चौतर्फी दबाब आएको बताउनु भयो । पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर सिकाई केन्द्रको रुपमा विद्यालय संचालन गर्न सकिने उहाँको धारणा छ । उहाँले तिन दिने वर्कसपबाट धेरै कुरा सिकेर विद्यार्थीमाझ नयाँ ढंगले प्रस्तुत हुन शिक्षकशिक्षकालाई आग्रह गर्नुभयो ।

विद्यालयका सल्लाहाकार तथा पूर्व अध्यक्ष रवि बहादुर काफ्लेले पनि धेरै विद्यार्थी स्कुल जान चाहेको बताउनु भयो । नगरले पनि विद्यालय खोल्न वातावरण बनाइरहेको सन्दर्भमा स्कुलले निकै सिर्जनात्मक कार्य गरेको भन्दै उहाँले प्राचार्य तोलाकान्त डुम्रेको प्रसंसा गर्नुभयो ।

सामुदायिक रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेले कोरोनापछिको शिक्षण पहिलाको भन्दा फरक हुनुपर्ने धारण राख्नु भयो । कोरोनाको त्रासककोबीच विद्यार्थी विद्यालयमा आउने हुँदा पढाउन भन्दा पनि कोरोनाको त्रास हटाएर मात्र कक्षा सुरु गर्न उहाको सुझाव छ ।

विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेले अब विद्यालय खुल्न लागेको अवस्था भएको हुँदा शिक्षकको पुर्नताजकीको लागि तालिम आयोजना गरिएको बताउनु भयो । मुख्यगरी मन्टेश्वरीमा अध्यापन गर्ने शिक्षक शिक्षकाहरुलाई कोरोनापछिको शिक्षण र मन्टेश्वरी विधि थाहा हुनपर्ने भन्दै यस्तो तालिम आयोजना गरिएको बताउनु भयो ।

अबको शिक्षक परम्परागत भएमा त्यसबाट उपलब्धि हासिल गर्न नसकिने उहाको भनाई छ । तालिममा गजेहडाको बालज्योति मावि र स्काइलाकर्क करिब ५० जना मन्टेश्वरी शिक्षकशिक्षिकाको सहभागिता छ । तिनदिनसम्म बुटवलकी प्रशिक्षक साधना भण्डारीले मन्टेश्वरी शिक्षण विधि, कोरोनापछि बालबालिकासंग हुने घुलमिलको तरिका, सिकाईमा शैक्षिक सामाग्रीको प्रयोग र बालमैत्री मनावैज्ञानिक शिक्षणविधिको रुपमा ज्ञान दिनु हुने पनि उहाँले मायादेवी अनलाइनसंग बताउनु भयो ।


प्राथमिक तह संयोजक यशोदा जिसीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको संचालन शिक्षक केशव पुरीले गर्नु भएको थियो ।कार्यक्रममा विद्यालयका सल्लाहाकार नेत्र खनाल र अरु शिक्षकको पनि सहभागिता थियो । प्रमुख, विशिष्ट र अन्य अतिथिलाई विद्यालयले मायाको चिनो दिएर सम्मान गरेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७८ बिहिबार ००:००  ११ : ०८ बजे