२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

दशरथ रंगशालामा डेब्यु गर्दै अलमुताइरी



काठमाडौं ।

नेपाल र भारतबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बिहीबार दशरथ रंगशालामा हुँदैछ र यो प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि विशेष हुनेछ । विशेष किन भन्दा यस खेलसँगै उनले दशरथ रंगशालामा डेब्यु गर्नेछन् । अर्थात उनको नेतृत्वमा नेपालले पहिलो पल्ट नेपाली फुटबलको मूल घरमा खेल्नेछ ।

अहिलेसम्म नेपालले कुवेती प्रशिक्षक अलमुताइरीको नेतृत्वमा चार खेल खेलेका छ । त्यसमध्ये पहिलो इराकविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल थियो, जुन बासरामा भएको थियो । त्यसपछि नेपालले विश्वकप छनोटका तीन खेल खेल्यो, कुवेती भूमिमा । यी खेल क्रमशस् चिनिया ताइपेयी, जोर्डन र अष्ट्रेलियाविरुद्ध रहे ।

अब भने उनको वास्तविक परीक्षा हुनेछ, दशरथ रंगशालामा । नेपाल र भारतबीच अहिलेसम्म २० आधिकारिक खेल भएकोमा त्यसमध्ये नेपाल तीन खेलमा मात्र विजयी रहेको छ । आफू पछाडि परे पनि आक्रमण रणनीति अपनाउनु पर्ने सिद्धान्तका पारखी अलमुताइरीले यही पृष्ठभूमिमा कस्तो रणनीति अपनाउने हुन्, त्यो हेर्न लायक हुनेछ ।

उनी अगाडि नेपाली टिमका प्रशिक्षक थिए, बालगोपाल महर्जन । उनले बंगलादेशविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र थ्री नेसन्स कपमा टिमको जिम्मेवारी लिएका थिए । यसको ठीक अगाडिका प्रशिक्षक हुन्, योहान कालिन । नेपालले कालिनको नेतृत्वमा नौ खेल खेल्यो, तर संयोग कस्तो भने त्यसमध्ये एकै खेल पनि दशरथ रंगशालामा भएको थिएन् ।

कालिन एक प्रकारले अभाग्यशाली रहे, किनभने उनले दशरथ रंगशालाको अनुभव नै बटुल्न सकेनन् । उनी सन् २०१९ मा एकै वर्ष मात्र नेपाली टिमका प्रशिक्षक रहे । नेपालले थ्री नेसन्स कप खेल्दा अलमुताइरी नेपाल आइसकेका थिए । उनले नेपालका सबै खेल पनि हेरे । अब उनी नेपालका लागि पहिलो पल्ट दशरथ रंगशालाको ‘डग आउट’ मा हुनेछन् ।

प्रकाशित मिति : १७ भाद्र २०७८ बिहिबार ००:००  ६ : २७ बजे