३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कोइली नदीमा बन्ने भयो पक्की पुल, भदौमै निर्माण सुरु हुने



बाबुराम रायमाझी, चारनम्बर ।

वर्षाैदेखि नाम चलेको तर काम हुन नसेको कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित कोईली नदीमा मोटरेवल पक्की पुल बन्ने पक्का भएको छ । वडा नम्बर ७ र वडा नम्बर ९ लाई जोड्ने मोतिपुर स्थित कजवे पुलको सट्टामा अबको एक हप्ता भित्र काम सूचारु हुने गरी पुलको ठेक्का प्रक्रिया पुरा भएको हो ।

कोइली खोला (क) नाम दिइएको उक्त नदीमा वर्षाै देखि जिर्ण अवस्थाको कजवेबाट यात्रारत नागरिकहरु मोटरेवल पुल बनेसँगै सहज यात्रा गर्नेे आशामा छन् । चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारबाट विनियोजित बजेट मार्फत डिपिआर भई पुल निर्माणका लागि टेण्डर अर्थात ठेक्का सम्झौता समेत भए र अब तुरुन्त काम अगाडी बढ्ने बताइएको छ ।

ठेक्का सम्झौता अनुसार सिद्धार्थ दर्शन हिमाली जे.भि कन्स्ट्रक्सन अर्घाखाँचीले निर्माणको जिम्मा लिएको जनाइएको छ । गत वर्ष डिपिआर सम्पन्न भएको भए पनि प्रदेश सरकारले यस वर्ष पुलका लागि बजेट विनियोजन गरेको हो । अहिलेसम्म कोइली नदीमा आएको बाढीले पाँच जनाको ज्यान लिइसकेको छ भने धेरैले जोखिमका साथ यात्रा गरिरहेका छन् । लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय तथा पूर्वाधार विकास कार्यालयसहित जिल्लाबाट प्रदेश सभामा निर्वाचित सासंदहरुको पहलमा पुल निर्माणका लागि पहल गरिएको हो । यस वर्षको भदौ महिनाबाटै काम अगाडी बढ्ने छ । पुल बनाउन लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले पनि पहल गरिरहनु भएको छ ।

कामको पुर्व तयारीको लागि प्रदेश सांसद विष्णु पन्थी, वडा नं ७ र वडा ९ का वडा अध्यक्ष बिष्णु गिरी, ९ का वडाध्यक्ष धुर्व बेल्बासे , प्रदेश पुर्वाधार कार्यालयका इन्जिनियर विर्जा पौडेल ,विद्युत कार्यालय जितपुरका इन्चार्ज, निर्माण ठेकेदार यम लाल खनाल, पत्रकार महासंघ कपिलवस्तुका निवर्तमान अध्यक्ष डिला भुसाललगायतको टोली अवलोकनको लागि मंगलबार त्यहाँ गएका थिए ।

जिल्लामै सुगम नगरपालिका भनिएको बाणगंगाको कोइली नदीका कारण विभिन्न समयमा मानवीय जोखिम निम्ताउने खतरा बढेको थियो । लामो समयदेखि पुलको माग गरिरहेका स्थानीयहरु पुल निर्माणको काम सुचारु हुने भएको सुनेसँगै खुसी भएका छन् । सो सडक खण्डलाई पूर्व पश्चिम राजमार्ग अन्तरत घेरवा बनगाईदेखि अर्घाखाँचीको लागि दु्रत मार्गको रुपमा हेर्ने गरिएकोे छ भने कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवादेखि जहदी, कोपवा, झण्डा, बनगाई , भलवाड हुँदै अर्घाखाँचीको डोहोटे मार्गको रुपमा समेत विकास गरिएको छ । यस्तै अर्घाखाँची जिल्लालाई सहजै नेपाल भारत सिमासँग जोड्ने नजिकको मार्ग पनि रहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८ बुधबार ००:००  ३ : २७ बजे