३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थागित, दुई साता पर धकेलियो



रुपन्देही ।

प्रमुख विपक्षी दलले आफूले कारवाही गरी पठाएका दुई सांसद पदमुक्त नभएकोसम्म सदन चल्न नदिने संकेत पाएपछि लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थागित भएको छ । बैठक सूचना टाँस गरी दुई साताका लागि स्थागित गरिएको हो ।

प्रदेश सभाको नवौं अधिवेशनको पाँचौं बैठक भदौ १७ गतेका लागि बोलाइएको भए पनि प्रदेशसभाले एकदिन अघि नै सूचना टाँसेर स्थगित गरेको हो । प्रमुख विपक्षी दल एमालेले भदौ १ गतेदेखि आफ्नो माग पूरा नहुँदासम्म सदन रोक्ने घोषणा गरिसकेको छ ।

यसअघिका ४ वटा बैठक रोकिए पनि भदौ ७ गते विपक्षी दलले बहिष्कार गरेको समयमा मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारमा सहभागी दलहरुबाट विश्वासको मत लिएका थिए । सोही दिन विश्वासको मत लिइसकेपछि १७ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रदेशसभा संचालनका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति हुन नसकेको र नेपाली कांग्रेसको अधिवेशन आएकाले बैठक भदौ ३० गते बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेकपा एमालेले सूर्य चुनाव चिह्न लिएर निर्वाचित तत्कालीन प्रदेशसभा सदस्य विमला कुमारी खत्री वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै बैठक अवरुद्ध गर्दै आएको छ । उसले सभामुख पूर्णबहादुर घर्तीले राजनीतिक प्रतिशोध राखेर निर्णय गर्न नसकेको भन्दै सभामुखकै भूमिकामाथि प्रश्न उठाएको छ ।

सभामुख घर्तीले वली र शाहीलाई एमालेको पत्रको आधारमा पदमुक्त गर्न नमिल्ने जानकारी एमालेलाई गराएपछि विवाद बढेको हो । ‘यसअघि सभामुख आफैले निवेदन मागेर मिनेटभरमै सांसद पद हटाएको, सरकारबाट आएका पत्र लामोसमय आफै लुकाएर राखेको, माओवादी केन्द्रबाट निर्वाचित भएर सभामुखजस्तो संवैधानिक निकायमा पुगेको व्यक्तिले पुरानो प्रवृति नछोडेको, प्रमुख प्रतिपक्ष दललाई पूर्व जानकारी नै नदिएर कार्यव्यवस्था परामर्श समितिको बैठक नै नबोलाई मुख्यमन्त्रीलाई विश्वासको मत दिलाएर सभामुखको अधिकार दुरुपयोग गरेको प्रष्ट देखिएको छ’, एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल भन्छन्, ‘यी सबै विषयको गम्भीर अनुसन्धान हुन जरुरी छ, हाम्रो माग सम्बोधन नहुँदासम्म सदन चल्दैन, सरकारको वैधता पनि हुँदैन ।’

प्रकाशित मिति : १६ भाद्र २०७८ बुधबार ००:००  २ : १९ बजे