मायादेवी अनलाइन, वाणगंगा ।
विहिबार राती परेको अविरल वर्षाका कारण नगरक्षेत्र डुबानमा परेपछि वाणगंगा नगरपालिकाले आवश्यक कदम चालेको छ । शनिबार नगर स्तरीय विपद् व्यवस्थापन समितिको वैठक आयोजना गरी विभिन्न निर्णय गरेको हो । नगरपालिका भित्र डुवानका कारण मानवीय तथा करोडौंको भौतिक क्षति भएको जनाइएको छ । प्रारम्भिक चरणमा नगरमा २ हजार घरपरिवार प्रभावित भएका छन् । कतिपयको घर गोठ भत्किएका छन् भने अन्नबाली, लत्ता कपडा, पशु चौपाया र सामानहरु नष्ट भएको छ ।
प्रारम्भिक चरणमा कुनै मानवीय क्षति नभएको बताइएपनि डुवानका कारण कोपवा ५ सिमलखोर गाँउमा २ वर्षको बालिकाको डुवेर मृत्यु भएको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको वैठकले उक्त घटना प्रति दुख व्यक्त गर्दै श्रद्धान्जली व्यक्त गरेको छ ।
वैठकले डुवानका कारण क्षति पुगेका घरपरिवारका लागि तत्काल उद्धार, राहत र पुनस्र्थापना जस्ता सहयोग गर्ने निर्णय भएको नगरका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जानकारी दिनुभयो । उहाँले डुवानका कारण घरवार विहिन भई अन्यत्र आश्रय लिई बसेकालाई तत्काल खाद्यान्नको व्यवस्था मिलाउने, क्षतिको एकिन विवरण संकलन गर्ने तथा पीडित परिवारलाई राहत वितरणका लागि एकद्धार प्रणालीबाट वितरण हुने जानकारी दिनुभयो । अधिकृत खनालले पीडित परिवारका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुले नगरपालिका संग समन्वय गरेर मात्र राहत वितरण गर्नुपर्ने बताउनुभयो । साथै अहिले सिर्जित समस्या समाधानको लागि नगरपालिकाको विपद् व्यवस्थापन कोषलाई बृद्धि गरिने समेत बताइएको छ ।
तत्काल छाक टार्न समस्या भएका घर परिवारलाई वडा अध्यक्षहरुले आवश्यक समन्वय गरी राहत वितरण गर्ने निर्णय भएको छ । नगरका ११ वटै वडा अध्यक्षहरुले प्रारम्भिक क्षतिको विवरण, पीडितहरुको अवस्था, वडाबाट भएका राहत सहयोगका प्रयासहरु बारे वैठकमा जानकारी गराएका थिए । वैठकमा राजनीतिक दल, नागरिक समाज, कपिलवस्तु उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय पिपरा, नेपाल रेडक्रस सोसाइटी वाणगंगा, पत्रकार लगाएतले विवाद रहित तरिकाले राहत तथा सहयोगका कार्यक्रम ल्याउनृुपर्ने, ढल निकास, नदी कटान लगाएतका समस्याको पहिचान गरी तत्कालिन र दीर्घकालिन योजना निर्माण गर्नुपर्ने सुझाव दिएका थिए ।
प्रतिक्रिया