मायादेवी अनलाइन चारनम्बर ।
बाणगंगा नगरपालिकामा अध्यापनरत सबै शिक्षकहरु कोरोनाको खास अवस्था बुझ्नको लागि समुदायमा परिचालित हुने भएका छन् । कोरोनाको कारण लामो समय विद्यालय संचालन हुन नपाउँदा हजारौँ विद्यार्थीको भविष्य विग्रन लागेको आंकलन गर्दै कोरोनाको खास अवस्था बुझेर विद्यालय संचालन गर्ने तयारीस्वरुप शिक्षकहरु समुदाय केन्द्रित हुन थालेका हुन् ।
नगरपालिकामा शनिबार दिउसो भएको कार्यक्रममा मेयर मंगल प्रसाद थारु, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम भट्राई, शिक्षा अधकृत खिम बहादुर जिसी र विद्यालयका प्रधानाध्यापक तथा संचलकबीच छलफल भई यस्तो सहमति भएको छ ।
यसको लागि अब एकसातासम्म नगरका ७२ वटै सरकारी तथा नीजि विद्यालयका शिक्षकहरु समुदायमा परिचालित भई कोरोनाको स्थिति बुझ्ने छन् । सो क्रममा अभिभावकको पनि राय लिने छन् ।
त्यसपछि आएका सुझाव र कोरोनाको स्थितिबारे विद्यालयले नगरलाई प्रतिवेदन बुझाउने छन् । त्यसैको आधारमा नगरले जिल्ला प्रशासनसंग समन्वय गरी विद्यालय खोल्ने या नखोल्ने भन्ने विषयमा निर्णय लिने मेयर मंगलप्रसाद थारुले बताउनु भयो । अभियानको क्रममा समुदायमा कोरोनाका शंकास्पद ब्यक्ति भेटिए तुरुन्त एन्टिजोन या पिसिआर परीक्षण गराउने ब्यवस्था नगरले गर्ने उहाँको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयले अझै पनि विद्यालय खोल्न अनुमति नदिएको भन्दै समुदायमा कोरोनाको स्थिति ठिक भएको र अभिभावक राजी भएको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाई सिकाई केन्द्रको रुपमा विद्यालय खोल्न नगरले अग्रसरता लिने मेयर थारुले प्रतिवद्धता जनाउनु भयो ।
छलफलमा प्रमुख प्रशासकीय अधिकृत खनानलले नेपाल सरकारको निर्णय उल्लंघन गरेर अगाडी जान उपयुक्त नभए पनि कोरोनाको स्थिति पहिचान गरी अवस्था ठिक भएको खण्डमा विद्यालय खोल्न सकिने राय राख्नुभयो । सिकाई केन्द्रको रुपमा विद्यालयको खुलेको स्थितिमा स्वास्थ्य मापदण्ड पालना नगर्ने र नियम नमान्ने विद्यालयलाई भने कारबाहीको दायरामा ल्याइने उहाँको भनाई छ ।
शिक्षा शाखा प्रमुख भट्टराईले बाणगंगामा विद्यालय खोल्न चौतर्फी दबाब आएको भन्दै छलफलमा सबैलाई बोलाइएको बताउनु भयो । समुदायमा शिक्षकहरुलाई परिचालित गर्नको लागि आइतबार विहान उहाँले प्रअहरुको वैठक डाक्नु भएको छ । त्यही वैठकबाट समुदायमा केन्द्रित हुन विद्यालयलाई निर्देशन दिइने उहाँले बताउनु भयो । कक्षाकोठामा सिमित विद्यार्थी राखी दिनमा तिन सिफ्टमा मात्र विद्यालयमा सिकाई केन्द्र संचालन हुने भट्टराइले बताउनु भयो । यसलाई विद्यालय पुरै खुलेको भनी प्रचार नगर्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
यसैबीच नगरका विद्यालयले बाणगंगा नगरपालिका विद्यालय सिकाई सहजिकरण कार्यविधि २०७८ बनाई मेयर थारुलाई दिएका छन् । सो कार्यविधिमा स्वास्थ्य मापदण्ड अपनाई विद्यालयलाई सिकाई केन्द्र बनाएर विद्यालय संचालन गर्नुपर्ने उल्लेख गरिएको छ । एउटा विद्यालयमा दिनमा तिन समुह बनाएर कक्षा संचालन गर्दा कोरोनाको त्रास नहुने आसयको पत्र प्याब्सनका सल्लाहाकार बासुदेव घिमिरेले पढेर सुनाउनु् भयो ।
छलफलमा शिक्षा अधिकृत खिम बहादुर जिसीले जिल्ला प्रशासन कार्यालयले गरेको सर्वपक्षीय निर्णय सुनाउनु भएको थियो । त्यो निर्णय अनुसार तत्काल विद्यालय खोल्न प्रशासनले कुनै अनुमति दिएको छैन । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा संचालक सहभागि थिए । नगरका ७२ विद्यालयका सयौँ शिक्षक समुदायमा परिचालित हुदा कोरोनाको खास स्थिति थाहा हुने भन्दै यो काम राम्रो भएको विश्लेषण गरिएको थियो ।
यसैबीच कार्यक्रममा सहभागिले प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे विद्यालयप्रति अनुदार हुनुको कारण के हो ? भनी प्रश्न गरेका छन् । जनता माविका प्राचार्य रमेश पन्थी, बाणगंगा माविका प्राचार्य राम प्रसाद भण्डारी, बाल मावि वैरियाका प्राचार्य अर्जुन शाही, प्याबसनका केन्द्रिय सचिवालय सदस्य सर्वेन्द्रदेव खनाल, प्याबसन उपाध्यक्ष सुन्दर पाण्डे, ज्ञानपुञ्जका प्रबन्ध निर्देशक रोमाकान्त घिमिरे, हिलवर्टका प्रबन्धक बुद्धि पौडेल, जे होराइजनका दीपक अधिकारी, स्काइलार्कका तोलाकान्त डुम्रे लगायतले जिल्लामा अन्य सबै कुराहरु खुल्ने तर विद्यालय बन्द नै गर्नु पर्ने स्थिति किन आयो ? सिडिओ विद्यालयप्रति किन उदार हुन सक्नु भएन ? भनी प्रश्न गरेका थिए ।
पालिकाहरुले दुई तिन सय मान्छे राखेर राख्दा कोरोना नसर्ने, बजार खुल्दा कोरोना नसर्ने, होटलहरुमा कार्यक्रम र वैठक सेमिनार हुँदा कोरोना नसर्ने, सरकारी कार्यालयको भीँडमा कोरोना नसर्ने, गाडी चल्दा कोरोना नसर्ने तर विद्यालय खुल्दा कोरोना सर्छ भनेर किन विद्यालयलाई भनिएको छ ? के विद्यालयबाट मा कोरोना सर्ने हो भन्दै उनीहरुले आक्रोश पाखेका थिए ।विद्यालयलाई बन्धक राख्ने प्रशासनको निर्णयले जिल्लाका हजारौँ विद्यार्थीको भविष्य अन्धकारमय भएको उनीहरुले बताए ।
छलफलमा नेपाली काँग्रेशका नगर सभापति विषु थापा र नागरिक समाजका कोषध्यक्ष अर्जुन पोख्रेलले विद्यालय खोल्ने विषय संवेदनशिल रहेको भन्दै साझा निर्णय लिन उचित हुने बताउनु भयो । सामुदायिक रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेले नगरले अब साहसिक निर्णय गर्ने बेला आएको बताउँदै स्कुलहरुले पनि बदमासी गर्न नहुने धारणा राख्नुभयो । छलफलमा बाल संजालका प्रतिनिधिले विद्यार्थीको भविष्यमा सबै जिम्मेवार बन्नु पर्ने बताएका थिए ।
प्रतिक्रिया