९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगाको बार्षिक समिक्षा : वित्तिय र भौतिक प्रगती उत्साहजनक



मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा नगरपालिकाको कार्यालयले आर्थिक वर्ष २०७७।७८ को बार्षिक समिक्षा सम्पन्न गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित समिक्षा कार्यक्रममा वित्तिय प्रगती र भौतिक प्रगती उल्लेखनीय भएको बताइएको छ । गत वर्षको नगर विकासको स्वीकृत बार्षिक कार्यक्रम र बजेट अनुसार ८४.२३ प्रतिशत वित्तिय प्रगती र १०० प्रतिशत भन्दा बढि भौतिक प्रगति हासिल भएको छ ।

नगरपालिकाले गत आ.ब.मा आर्थिक सामाजिक विकासका सूचकहरुमा उल्लेखनीय उपलब्धी हासिल गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार, बालविकास, सु्शासनको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको जानकारी दिनुभयो । अधिकृत खनालले नगरपालिका दुध, मासु र अण्डामा आत्मनिर्भर भएको समेत जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी पूर्व मन्त्री तथा प्रतिनिधी सभा सदस्य चक्रपाणी खनालले नगरपालिकाको पछाडी परेको कृषि क्षेत्रमा लगानी बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । कृषि मन्त्री हुँदाको अनुभव सुनाउदै उहाँले भन्नुभयो–‘कृषिमा आश्रित जनसंख्याको अनुपातमा निकै न्यून बजेट संघीय सरकार देखि स्थानीय तहसम्म रहेकाले यसको सन्तुलन नमिलाउदासम्म कृषि क्षेत्रबाट हुने आर्थिक विकास कहिल्यै पुरा हुँदैन् ।’

सरकारले कुल ग्राहस्थ उत्पादनको अनुपातमा कृषि क्षेत्रको लगानी नबढ्दा सम्म कृषिक्षेत्र आयातमुखि हुने अवस्था भएको बताउनुभयो । नगरपालिकाले कृषिसंगै भौतिक पूर्वाधार जोड्नुपर्ने बताउदै शिक्षा र स्वास्थ्य सेवालाई प्राथमिकता दिनुपर्ने साँसद खनालले जोड दिनुुभयो । उहाँले आन्तरिक पर्यटन प्रवर्धन गर्दै आधुनिक भन्दा प्राकृतिक पर्यटकीय विकासको आवश्यकता भएको समेत औल्याउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथी संविधान सभा सदस्य बलराम अधिकारीले दीर्घकालिन योजना बनाएर नगरका प्राथमिकताका आधारमा लोकप्रिय कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो । उहाँले नगरभित्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा कमी भएको भन्दै त्यसको उचित प्रचार प्रसारमा जोड दिनुपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका नगर प्रतिनिधी अमित पौडेल, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी लगाएतले भौतिक पूर्वाधार सडकको गुणस्तरता हेर्नुपर्ने, शिक्षकको दरबन्दी मिलान, कृषि र पशु क्षेत्रको बजेट बृद्धि, २ लाख सम्मका योजनाको सम्झौता वडा तहमै गरेर नगरवासीलाई सरल तरिकाले सेवा प्रवाह गर्न सुझाव दिएका थिए ।

नगरपालिकाका उप-प्रमुख चक्रपाणी अर्यालले नगरपालिकाले सुशासन र आर्थिक पारदर्शीतालाई मुख्य संकल्पका साथ काम अगाडी बढाएको बताउनुभयो । उहाँले प्रदेशमै सुशासनमा उत्कृष्ट नगर हुन सफल भएकोले आर्थिक पारदर्शीता र सुशासनलाई नगर विकासको मेरुदण्डको रुपमा अंगिकार गरेको समेत बताउनुभयो । नगरपालिकाले शुन्य बेरुजुको अवधारणालाई कार्यान्वयनमा जोड दिएको छ ।

नगर प्रमुख मंगल प्रसाद थारुले नगरवासीको राय सुझावलाई सदैव आत्मसाथ गर्दै नगरको विकासमा आफुहरु निरन्तर लागिरहेको र आउने दिनमा समेत लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफुहरुले बाँकी अवधीमा अधुरा योजना सम्पन्न गर्न र शुरु नभएका नगरका गौरबका आयोजनाहरुलाई शूरुवात गरेर छाड्ने समेत बताउनुभयो । कार्यक्रममा नगरका प्रबक्ता विष्णु प्रसाद पौडेलले स्वागत तथा संचालन लेखा अधिकृत रामचन्द्र मरासिनीले गर्नुभएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७८ शनिबार ००:००  ८ : ४० बजे