९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुको बाणगंगामा बर्षाले मच्चाएको वितण्डा



मायादेवी अनलाइन, चारनम्बर ।
विहीबार साँझदेखि शुक्रबार दिउँसोसम्म आएको अविरल बर्षाले कपिलवस्तुको बाणगंगा नगरपालिकाका बिभिन्न क्षेत्रमा वितण्डा मच्चाउँदा लाखौँको क्षति भएको छ भने बजार र खेतीयोग्य जमिन डुवेका छन् ।

पिपरा, वैरिया, चारनम्बर, दरखास्त, वनगाई, ओदारी, पटना, कोपवा लगायतका उद्योगधन्दा, कलकारखाना, कुखुरा तथा पशु फर्म, हस्पिटल, होटल, विद्यालय पसल आदि जलमग्न हुँदा लाखौँको क्षति भएको हो ।

अझैसम्म नगरले क्षतिको विवरण संकलन गरेको छैन । यद्यपि धेरै नै धनमालको क्षति भएको सामाजिक संजालमा पोष्ट भएका फोटा र भिडियोले बताउँछ । लामो समयपछि आएको निरन्तरको भारी बर्षाका कारण स्थिति बेहाल भएको थाहा भएपछि मायादेवी अनलाइनको टोली केही स्थानमै स्थलगत रुपमा पुगेर जानकारी लिएको छ ।

शुक्रबार विहान बाणगंगा दरखास्तमा पुग्दोे बराहा हजेरी मजा उद्योग डुबेको छ । उद्योगमा दुई हातभन्दा माथिसम्म पानी आएको थियो । स्थानीय शिवमन्दिर सामुदायिक बन र उत्तमनगर हुँदै आएको कुलोको सबै पानी जम्मा हुँदा उद्योगको यो बेहाल भएको संचालक टेकराज अधिकारीले मायादेवीसंग बताउनु भयो ।

करोडौँ लगानीमा संचालनमा रहेको उद्योगमा भेल पस्दा त्यहाँका फर्निचर, अफिसियल कागजात, मेसिन, तयार मोजा, धागो आदिमा ठुलो क्षति पुगेको उहाँले मायादेवीसंग बताउनु भयो । रातभर नसुति बल्ल बल्ल मेसिनलाई जोगाउन सकिएको खिमलाल अधिकारीले बताउनु भयो ।

उहाँले भन्नुभयो ‘म यहाँ बस्न थालेको ४० बर्ष हुन लाग्यो । यस्तो डुवेको अहिलेसम्म मलाई थाहा छैन । पानीको निकास नभएर अलिअलि त गत बर्ष पनि हुने गर्दथ्यो तर घरभित्रै पसेर यो विचल्ली अहिलेसम्म पारेको मेरो रेकर्डमा छैन । वरपरका करिब २० घरका किचन, अण्डरग्राउण्ड डुवेका छन् । हामी सबै रातभर सुतेनौँ । रातभर जाग्राम बसेर आफ्ना मालसामान स्याहार्न लाग्यौँ । बालबच्चालाई सम्हाल्न गाह्रो भयो । रातभर झिमिक्क गरेका थिएनौँ । राति विजोग थियो । विहान कम भएको हो ।’

स्थानीय जंग बहादुर मल्लले पनि दरखास्तको बाटोमाथिको लाइनमा बनेका घर यसरी डुवेको पहिलोपटक थाहा पाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यहाँका करिब ४२ घरभित्र २ हातसम्म पानीले डुबायो । पानीको निकास नहुँदा र निरन्तर ठुलो बर्षा हुँदा यतिका पानी जम्मा भएको यो पहिलोचोटी देखेँ ।’

डुवेका सबै घरपरिवारको माग भनेकै चाँडो पानीको निकास हो । यसको लागि आजभोलि नै नगरपालिकामा डेलिगेसनको लागि जान्छौँ’ उहाँले थप्नु भयो । नगरपालिकाकै आँगनमा यस्तो विचल्ली हुँदा वडाध्यक्ष, मेयर र उपमेयर आएर के भयो सम्म भन्न नसकेकोमा उहाँले दुख ब्यक्त गर्नुभयो । त्यहाँका अरु हार्डवेयर लगायतका सिमेन्टका गोदाम पनि डुवेको उहाँले बताउनु भयो ।

वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले पनि यस्तो डुवान आफूले पहिलोपटक देखेको बताउनु भयो । ढल निकास नभएका अब्यवस्थित घरहरु बनाउँदा र शिवमन्दिर बनबाट आउने भलका कारण दरखास्त क्षेत्र डुवानमा परेको बताउनु भयो । क्षति भएको विवरण र निवेदनको आधारमा नगरको दैवी प्रकोप उद्धार समितिले उचित क्षति पुर्ति दिने उहाँको भनाई छ । अब चाँडै पानी निकासको लागि पहल गर्ने उहाँले बताउनु भयो ।

यता चारनम्बरको अण्डरग्राउण्डमा रहेका पसल, होटल र हस्पिटल पनि डुवे भने वैरिया बजारमा समेत आवत जावत गर्न हम्यहम्य थियो । कपिलवस्तु सामुदायिक अस्पतालको वरिपरिको वगल, वैरिया स्कुलको वरिपरि बाटोमाथिका घर र पसलहरु पुरै जलमग्न भएका छन् ।

डुबानका कारण खाद्यान्न, पशुचौपायामा क्षति पुगेको छ । स्कुल जानेबाटोको मुख्य चोकमा रहेका दुई घर ढुंगाना र सुवेदी होटलमा जलमग्न भएपछि रातभर जागै बस्नु परेको थियो । त्यस्तै शुभम फिड सप्लायर्सको तल्लोतल्लामा रहेको दाना र औषधीमा क्षति पुगेको छ । चारनम्बर स्थित अर्जुन पोखरेलको माहुरी पालन व्यवसायमा समेत पानीले क्षति पुगेको छ । अविरल बर्षाका कारण घरहरु डुवानमा परेको खवर आएपछि रातभर जनताका समस्यामा जुटेको वडा अध्यक्ष बालकुमारी अधिकारीले बताउनुभयो ।

यस्तै चारनम्बर तौलिहवा रोडको पूर्वपट्टी अण्डरग्राउण्डमा रहेका होटल, हार्डवेयर र अरु पसलहरुमा ठुलो क्षति भएको छ । माउण्टेन होटलको किचन र रिसिप्सन पुरै डुवेको थियो । होटलमा रहेका फ्रिज, टिभी, टेवल, कुर्ची, सोफा सेट सबै कामै नलाग्ने अवस्थामा रहेको संचालकहरुले मायादेवीसंग बताए ।

यसैगरी गजेहडा र ओदारी बजार पनि जलमग्न हुँदा विहान आवतजावतमा समेत समस्या भएको थियो । गजेहडाका कतिपय कुखुरा तथा पशुफर्ममा भेल र बाढी पसेको छ । ओदारी बजारका सबै घरहरुमा २ हातमाथि पानी आएको थियो । वडा नम्बर ११ का वडाध्यक्ष सोमनाथ अर्यालले ओदारी बजार यसरी डुवेको पहिलोपटक देखेको सुनाउनु भयो । रातभर मानिसहरु नसुतेको उहाँको भनाई छ । उहाँका अनुसार चार नम्बर तौलिहवा रोडमा सडकको केही माग पनि देखिने स्थिति थिएन ।

यता वडा नम्बर ३ को राजापानीमा पनि बर्षासहितको भल, साना खोला नालाका कारण धेरै क्षति भएको छ । कतिका गाइगोठ र घर डुवेका छन् । केहीका पशु चौपाय पनि मरेको थारु भिलेज कटेजका प्रोप्राइटर सन्तराम रौतरले मायादेवीसंग बताउनु भयो । उहाँले आफ्नै २ लाख बराबरका माछा बगेको बताउनु भयो । करोडौँ लगानी गरेर नमुना रिसार्ट बनाउने तयारीमा रहेकोमा यो ठुलो भेल र बर्षाले प्रभावित बनाएको उहाँले बताउनु भयो । भक्तौली धनकौली लगायतमा पनि धेरै घर र गोठ डुवेका उहाँको भनाई छ ।

यता वडा नम्बर १० को पटनामा पनि धान खेती डुवानमा परेको छ । पटनाका अधिकांश खेतहरुमा भेल र बाढी पसेपछि किसान चिन्तित छन् । त्यहाँ धानसंगै घर, गोठ, पशु चौपाय फर्म डुवेका छन् । उत्तरतिरबाट जम्मा भएको पानी डोलिएर जाँदा रातभर आवतजावत गर्न समेत समस्या भएको वडाध्यक्ष राम विहारी थारुले मायादेवीसंग बताउनु भयो । वडामा के कति क्षति भयो त्यसको विवरण संकलन गरिरहेको उहाँले बताउनु भयो ।

यस्तै वडा नम्बर २ को उत्तरतर्फका केही र दक्षिण लखनपारा लगायतका क्षेत्रमा पनि बाढी र भेलले समस्यामा पारेको वडाध्यक्ष विष्णु पौडेलले बताउनु भयो ।

यता वडा नम्बर ५ को कोपवा, मनहरापुर, मधौली, झण्डा, सुठौली, वडा नम्बर ६ का लक्ष्मणघाट, भगलापुर, वडा नम्बर ७ को बनगाई, मोतिपुर, वडानम्बर ८ का बोडगाउँ, मधुवन, चप्परगाउँ, लौगाई, मोर्मी लगायतका स्थानका केही घर, पसल र गाइगोठ जलमग्न भएका त्यहाँका त्यहाँका स्थानीयले बताए ।

यस्तै नगरका केही विद्यालय पनि सामान्य डुवानमा परेको बताइएको छ । ओदारी, पटना लगायतका स्थानमा होचो स्थानमा भएका विद्यालयमा पानी पसेको नगर शिक्षा अधिकृत खिम बहादुर जिसीले बताउनु भयो । नगरका कति विद्यालयमा भेल र बाढी पसी डुवानको समस्या भयो बुझ्ने काम भइरहेको उहाँले बताउनु भयो ।

यता नगरपालिकाले भने निरन्तरको भारी बर्षाले नगरमा के कति क्षति पुर्यो ? के कति धनमालको नष्ट भयो ? कति पशुचौपाय र अन्नबालीमा नोक्सान गर्यो ? विवरण संकलन भइरहेको र मारमा परेकाहरुलाई दैवी प्रकोप उद्धार समितिको सिफारिस अनुसार राहत दिने जनाएको छ । बर्षा आउने क्रम नरोकिएकाले अझै पनि वास्तविक विवरण आउन कठिन भएको विपद् ब्यवस्थापन समितिका अध्यक्ष विष्णु गिरीले मायादेवीसंग बताउनु भयो । अझै पनि केही दिन बर्षा हुने भएकाले सतर्क रहन उहाँले नगरबासीमा आग्रह गर्नुभयो ।

नगर प्रमुख मंगल प्रसाद थारु र उपमेयर चक्रपाणी अर्यालका अनुसार वडा नम्बर ११, १०, ५ र ६ मा बढी क्षति र डुवान भएको छ । ती क्षेत्रको अवलोकनपछि पीडितलाई राहत दिइने उहाँहरुले बताउनु भयो । अझै केही दिन बर्षा, भेल र खोलानालाले गर्ने क्षतिबाट बच्नको लागि सतर्क रहन उहाँहरुले नगरबासीलाई आग्रह गर्नुभएको छ ।

यता इलाका प्रहरी कार्यालय प्रहरीको समन्वयमा मानवीय उद्धार समेत गरिएको थियो । नगरबासीले प्रहरीलाई हारगुहार गरेपछि प्रहरीले रातभर गस्ती बढाएको थियो ।

करिब १८ घण्टासम्म निरन्तरको भारी बर्षा भए पनि चुरेमा कम पानी आएका कारण बाणगंगा नदीले क्षति गर्न नपाएको सर्वसाधारण बताउँछन् । तराइमा ठुलो बर्षा भए पनि चुरेमा कम बर्षा भएको कारण बाणगंगा नदीले गर्ने ठुलो धनजनको क्षति टरेको चार नम्बरमा एक जना सर्वसाधारणले मायादेवीसंग बताउनु भयो ।

थप समाचार अविरल बर्षाले कपिलवस्तुको वाणगंगा क्षेत्र जलमग्न (फोटोफिचर)

अविरल बर्षाले कपिलवस्तुको वाणगंगा क्षेत्र जलमग्न [भिडिओ]

प्रकाशित मिति : ११ भाद्र २०७८ शुक्रबार ००:००  ६ : ०५ बजे