९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाणगंगाका केही मेडिकल तथा फार्मेसीमा बदमासी, थमाइयो चेतावनी पत्र



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका भित्र संचालित केही स्वास्थ्य संस्थामा अनियमितता र बदमासी भेटिएको छ । नगरका शिक्षा स्वास्थ्य तथा खेलकुद शाखाका अधिकृत खिम बहादुर जिसीको नेतृत्वमा भदौ ८ र ९ गते वडा नम्बर ७, ८ र ११ का स्वास्थ्य संस्थामा अनुगमन भएको थियो ।

नियमित अनुगमनको क्रममा नगरपालिकामा दर्ता नभएका, नविकरण नगरिएका, दर्ता भए पनि मापदण्डअनुसार काम नगरेका, अनुमति विना ल्याब संचालन गरिएका, म्याद गुज्रिएका औषधी विक्रि वितरण गरिएका जस्ता अनियमितता भेटिएका हुन् ।

बुधबार वडा नम्बर ११ को ओदारीमा संचालित अधिकांश मेडिकल तथा क्लीनिकको अनुगमन गर्दा अधिकांशले प्रकृया नपुर्याइ संचालन गरेको पाइयो भने केहीले जन स्वास्थ्यमाथि गम्भीर लापरबाही गरेका छन् । ओदारीको शिरिष फार्मेसीले अनुमति विना ल्याब संचालन गरेको छ भने, म्याद गुज्रेका औषधी पनि विक्रिका लागि राखेको छ । जनताको स्वास्थ्यमाथि यस खालको लापरबाही गरेको हुनाले उक्त फार्मेसीको ल्याब बन्द गर्ने अनुगमन टोलीले चेतावनी दिइएको छ ।

अनुमति विना संचालित ल्याबमा कुनै मापदण्ड पुरा भएको देखिएन भने त्यहाँ भएका औजार पनि काम नलाग्ने खालका रहेका छन् । यस्तै ल्याब संचालन भएको ठाउँ पनि निकै फोहर र दुर्गन्धित रहेकाले तुरुन्त बन्दको लागि १५ दिने चेतावनी पत्र थमाइएको अनुगमन संयोजक जिसीले बताउनु भयो ।

No description available.

गत बर्ष पनि सो फार्मेसी दर्ता प्रकृयामा नआएको पाइएकाले नगरपालिकामा दर्ता गर्न भनिएको थियो । तर उक्त फार्मेसी संचालकले अटेर गरी अझैसम्म दर्ता नगरेकोले अब कुनै छुट नदिइने जिसीले बताउनु भयो । १५ दिन भित्र छड्के अनुगमन गर्दा पनि त्यस्तै भेटिए सो फार्मेसीलाई शिल गरिने उहाँले बताउनु भयो । ओदारीमा नेपाली नागरिकता नभएका एकजना बंगाली नागरिकले आफ्नै घरमा चेकजाँच इत्यादी गरेको भेटिएपछि उनलाई अबदेखि कुनै स्वास्थ्य सम्बन्धि काम नगर्न चेतावनी दिइएको छ ।

यस्तै ओदारीकै मेडी प्लस, चौधरी मेडिकल हलले पनि दर्ता प्रकृया पुरा गरेका छैनन् । उनीहरुलाई पनि १५ दिन भित्र दर्ता प्रकृयामा आइसक्न पत्र दिइएको छ । बुधबार सिद्धार्थ मेडिको, बाणगंगा डेण्टल, ओदारी हेल्थ केयर सेन्टर, नवजीवन मेडिकलमा पनि अवलोकन भएको थियो ।

नगरले मंगलबार पनि वडा नम्बर ७ र ८ का १० वटा मेडिकल, फार्मेसी तथा क्लीनिकको अनुगमन गरेको थियो । तीमध्ये सुपा देउराली बनगाईको देउराली डेण्टल र बोडगाउको छाँया फार्मेसीले बदमासी गरेका छन् । सुपा देउरालीले कुनै प्रकृया पुर्याएको छैन । त्यहाँ न्यूनतम जनशक्ति पनि नराखी हचुवाको भरमा सर्वसाधारणको चेकजाँच गरिएकोले तुरुन्त सुधारको लागि मौाक दिइएको छ । १५ दिनभित्र मापदण्ड पुरा नगरे उक्त डेण्टललाई शिल गरिने अनुगमन संयोजक जिसीले बताउनु भयो । यसैगरी छाँयाँ फार्मेशीले पनि मापदण्ड पुरा नगरेकाले चेतावनी दिइएको छ ।

No description available.

यसपटकको अनुगमन थाहै नदिइकन गरिएकाले धेरैमा केही न केही त्रुटि भेटिएको नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनु भयो । अनुगमनको क्रममा त्रुटि भेटिएकाहरु तुरुन्त नसुध्रिए कानुन अनुसार कारबाही गर्ने पौडेलको चेतावनी छ ।

अनुगमनको क्रममा धेरैले अन्य मापदण्ड पुरा गरे पनि नगरमा दर्ता गर्न आनाकानी गरेका भेटिएको स्वास्थ्य अधिकृत भक्तिराम पाण्डेले बताउनु भयो । अब भोलि नगरका अन्य क्षेत्रका स्वास्थ्य संस्थाको अवलोकन हुने छ । स्वास्थ्य शाखा प्रमुख पौडेलले चारनम्बर, वैरिया, पिपरा लगायतका क्षेत्रका केही स्वास्थ्य संस्थाले पनि जन स्वास्थ्यमाथि गम्भीर लापरबाही गरेको सुन्नमा आएकाले अनुगमन गर्दा त्यस्तो भेटिए शिल गरी कारबाही प्रकृयामा जाने मायादेवीसंग बताउनु भयो ।

नगरको नियमित अवलोकनको क्रममा बुधबार किराना, खाद्यान्ह, माछा मासु, तरकारी पसल, होटल सुपरमार्ट लगायतको पनि अवलोकन भएको छ । अनुगमनमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता छ । अनुगमन विहीबार पनि हुने उपप्रमुख चक्रपाणी अर्यालले बताउनु भयो ।

प्रकाशित मिति : ९ भाद्र २०७८ बुधबार ००:००  ५ : ३८ बजे