काठमाडौं ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टी शान्तीपूर्ण राजनीतिमा सक्रिय छ । सरकारसँगको वार्ताअघि चर्चामा रहेको विप्लव नेतृत्वको पार्टी वार्तापछि भने आन्तरिक सांगठनिक र राजनीतिक काममा व्यस्त छ ।
राजनीतिक भेटघाट, संगठन निर्माणलगायतमा सो समूहका शीर्ष नेताहरु व्यस्त छन् । सशस्त्र संघर्षको बाटो रोजेर हिसांत्मक आन्दोलनमा लागेको सो समूहका महासचिव विप्लव सरकारसँगको वार्तापछि कपिलवस्तुमै बढी सक्रिय छन् । उनको गृहनगर पनि कपिलवस्तु नै हो । विशेष कामबाहेक उनी काठमाडौं आउँदैनन् ।
विप्लव समूहले पछिल्लो समय विभिन्न एजेण्डामा जनमत संग्रह हुनुपर्ने माग उठाउँदै आएको छ । ओली नेतृत्वको सरकार र विप्लव समूहबीच भएको सहमतिमा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिने प्रमुख विषय थियो । तर, सो समूहका हतियारबारे सरकार मौन रहेको भन्दै आलोचना भएको थियो ।
कतिपयले आफ्ना नेताकार्यकर्ता छुटाउन मात्रै सो समूहले सरकारसँग सम्झौता गरेको टिप्पणी गरेका थिए ।
सैन्य मोर्चा बनाउँदै अगाडि बढेको विप्लव समूहले आफ्नो सैन्य दस्ता र हतियारबारे जानकारी नदिएको भन्दै सुरक्षा निकायले समेत अनौपचारिक रुपमा सरकारसँग आपत्ति जनाएका थिए । विभिन्न समयमा विप्लव समूह र सरकारी सुरक्षा फौजबीच भिडन्त समेत भएको थियो ।
विप्लव समूहका नेता धर्मेन्द्र वास्तोला आफूहरु शान्तीपूर्ण रुपमा राजनीतिक र सांगठनिक रुपमा आफ्ना गतिविधी गरिरहेको बताउँछन् ।
नयाँ सरकार आएपछि आफूहरुले प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई भेटेको र जेलमा रहेका नेताकार्यकर्ताको रिहाईको माग गरिएको उनले बताए । उनले भने, “अझै ११५ भन्दाबढी नेताकार्यकर्ता जेलमै हुनुहुन्छ । उहाँहरुको रिहाईको विषयमा प्रधानमन्त्री सकारात्मक पनि हुनुहुन्छ । तर, कार्यकर्ता छुटेका छैनन् । हामी सरकारसँग भएको सहमति कार्यान्वयन होस् भन्ने चाहन्छौं ।”
विप्लव समूह तत्कालीन माओवादी जस्तै जनताको घरघरमा गएर बस्दै आएको छ । सो पार्टीमा लाग्ने पूर्णकालीन कार्यकर्ताको व्यवस्थापन पार्टीले नै गर्दै आएको छ । सुरक्षा निकायले भने विप्लव समूहका गतिविधीमाथि निगरानी कायमै राखेका छन् । –बाह्रखरीबाट
प्रतिक्रिया