९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

तालिबानले काबुल कब्जा गरेको एक हप्ता, अवस्था उस्तै अन्योलग्रस्त



काठमाण्डौ । तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको आज एक हप्ता पुगेको छ। एक हप्तामा विमानस्थलमा भागदौड हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । काबुल कब्जा गरेलगत्तै अफगानिस्तान छोड्नेहरुको सङ्ख्या बढ्दै गएको छ ।

अफगानिस्तानको अवस्था अझै अन्योलग्रस्त छ । अफगानिस्तानको काबुल विमानस्थल नजिकबाट आफूहरुले विदेशी नागरिकलाई अपहरण नगरेको तालिबानले दाबी गरेको छ । काबुलको विमानस्थलमा अझै पनि अमेरिकी नेतृत्वको सैन्य समूहले उद्धारको काम गरिरहेको र अपहरणबारे आएका सूचना हल्ला मात्र भएको तालिबान अधिकारीलाई उदृत गरि समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

तालिबान सदस्यले सबै विदेशी नागरिकलाई विमानस्थलमा पहुँच प्राप्त गर्न मद्दत गरिरहेको तालिबानका प्रवक्ता अहमद उल्लाह वासेकले बताएका छन् । हवाई उडान प्रक्रियामा सहयोग गर्न काबुल विमानस्थलमा झण्डै पाँच हजार अमेरिकी सेना खटाइएको तालिबानको दाबी छ ।

तालिबान समूहले काबुललाई आफ्नो कब्जामा लिएपछि प्रेस र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो समेत व्यक्त गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८ आइतबार ००:००  ७ : ५० बजे