बुटवल ।
प्रमुख विपक्षी दल एमालेले लुम्बिनी प्रदेश सभा वैठकमा नाराबाजी गर्दै अवरुद्ध गरेको छ ।
प्रदेश सभा बैठक शुरु भएलगत्तै एमाले सांसद हरि रिजालले सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेसम्म वैठक चल्न नदिने बताएलगत्तै एमाले सांसदहरु उठेर रोष्टम नजिक पुगेर नाराबाजी गरे ।
सभामुख पूर्णबहादुर घर्तीले प्रक्रिया अनुसार निर्णय गरिने बताएका छन् । बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष सम्बोधन गर्ने कार्यसूचि छ । यस्तै उद्योग, वन तथा वातावरण मन्त्री समेत रहेका मुख्यमन्त्री केसीबाट प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूचि छ ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले यसअघिको सरकारले अध्यादेशबाट ल्याएको विनियोजन विधेयक ९वजेट ० फिर्ता गर्न टेबल गर्ने र सभामुखले निर्णयार्थ पेश गर्ने कार्यसूचि छ ।
यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माबाट प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची छ ।
प्रमुख विपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि स्थगित लुम्बिनी प्रदेश सभा वैठक सुचारु गर्ने विषयमा छलफल गर्न सत्ता पक्ष र विपक्षी दलबीच छलफल भएपनि सहमति जुटेको थिएन ।
प्रमुख सचेतक ढकालले सांसद अजय शाही र विमला खत्री वलीलाई सभामुखले पदमुक्त नगरेसम्म प्रदेश सभा वैठक चल्न नदिइने बताए ।
नेकपा विभाजनपछि गत बैसाख १९ गते माओवादी केन्द्र रोजेकी विमला एमाले नेता उत्तर कुमार वलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन् ।
वलीलाई पार्टीमा ल्याउन एमालेले निकै कसरत गरेपनि सफल भएको थिएन । वलीलाई साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्रीको सरकारी निवासमा वन्धक बनाएर राखेको आरोप समेत लागेको थियो । शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्वीप नलाग्ने दावी गर्दै आएका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले सत्ताबाट विपक्षमा जाने वित्तिकै एमालेले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको बताए ।
प्रतिक्रिया