१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

न्युजिल्यान्डमा एकजना संक्रमित भेटिँदा देशव्यापी लकडाउन



बीबीसी ।

न्युजिल्यान्डमा ६ महिनामा पहिलोपटक एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि अचानक देशव्यापी लकडाउन घोषणा गरिएको छ ।
उक्त संक्रमित अकल्यान्डमा फेला परेका थिए जसपछि सो शहर एक हप्ताका लागि पूर्ण लकडाउनमा रहने बताइएको छ । देशका अन्य सबै भूभागमा चाहिँ तीन दिन लकडाउन जारी गर्ने भनिएको छ । त्यस्तै ती संक्रमितले भ्रमण गरेको कोरोमेन्डल शहर पनि सात दिनसम्म बन्द रहनेछ ।
आधिकारिक निकायहरुले यो नयाँ संक्रमण डेल्टा भेरियेन्टका कारण हुन सक्ने अनुमान गरेका छन् । यस्तोमा प्रधानमन्त्री ज्याकिन्डा एर्डनले चौथो स्तरको सबैभन्दा कडा लकडाउन आवश्यक रहेको बताएकी हुन् जसमा स्कुल, अफिस लगायत अतिआवश्यक बाहेकका सबै व्यवसायहरु बन्द गराइन्छ ।

उनले भनिन्, “म सबैलाई के सुनिश्चित गराउन चाहन्छु भने हामीले यस्तो परिस्थितिका लागि योजना बनाइ राखेका छौँ । छिटो र कडा कदम उठाउनु नै हाम्रा लागि पहिले पनि लाभदायक साबित भएको छ । ”
अहिलेका संक्रमित एक ५८ वर्षीय पुरुष हुन् जो गत बिहिबारदेखि नै संक्रमक भएको शंका गरिएको छ र उनी सम्भावित २३ ठाउँ मध्ये कतैबाट संक्रमित भएका हुन सक्छन् । यसकारण पनि सरकारले उच्च सावधानी अपनाउन लकडाउनको घोषणा गरेको हो । अचानक लकडाउन हुने भएपछि अकल्यान्डमा उपभोग्य वस्तुहरु किनेमल गर्न सुपरमार्केटमा भीड लागेको थियो ।

डेल्टा भेरियेन्ट हुन सक्ने भएकाले पनि कडा कदम उठाउन जरुरी रहेको निकायहरुले बताएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजानिक गरेको डाटामा पछिल्ला केही हप्ता देशको सिमानामा फेला परिरहेका अधिकांश संक्रमितमा डेल्टा भेरियेन्ट भएको पाइएको थियो ।
एर्डनले डेल्टा भेरियेन्टले आफूहरुको सबै उपलब्धीलाई एक झट्कामै उल्ट्याउन सक्ने हुँदा यसलाई रोक्ने एउटा मात्र अवसर पाउने बताएकी हुन् । यस्तो बेलामा लापरबाही गर्दा के परिणाम हुन्छ भन्ने सबैतिर देखिसकेकामा पनि उनले जोड दिइन् ।
यता खोप अभियानमा पनि न्युजिल्यान्ड अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको छ । त्यहाँका केबल २० प्रतिशत जनसङ्ख्याले मात्र अहिलेसम्म पूरा डोज लगाएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७८ बुधबार ००:००  ८ : २९ बजे