९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

राष्ट्रपति घानीले अफगानिस्तान छाडे



एजेन्सी ।

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाड्नुभएको सिन्ह्वाले जनाएको छ । अफगानिस्तानका स्थानीय न्युज एजेन्सीलाई उद्धृत गर्दै राष्ट्रपति घानीले अफगानिस्तान छाड्नुभएको सिन्हाले जनाएको हो ।

टोलो न्युजका अनुसार अशरफ घानी र उहाँका सहयोगीले पनि अफगानिस्तान छाडेका छन् । यसअघि कार्यवाहक रक्षा मन्त्री बिस्मिल्लाह मोहम्मदीले राष्ट्रपति घानीले देशको सङ्कट सुल्झ्याउने अधिकार राजनीतिक नेताहरूलाई सुम्पिएको बताउनुभएको खबरमा उल्लेख छ । घानी अफगानिस्तानबाट ताजकिस्तान पुग्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

तालिबान विद्रोही समूह राजधानी काबुलको बाहिरी क्षेत्रमा पुगेपछि राष्ट्रपति घानीसँगै उपराष्ट्रपति अमरुल्ला सालेहले पनि अफगानिस्तान छाडेको बीबीसीमा उल्लेख छ । तालिबानले अफगानिस्तानका मुख्य सहरहरू १० दिनमै नियन्त्रणमा लिएपछि पदबाट राजीनामा दिन घानीमाथि दबाब बढेको थियो ।

यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको पनि खबरहरू सार्वजनिक भएका थिए । केही हप्तादेखि अफगानिस्तानका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले राजधानी काबुलमा शरण लिइराखेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८ सोमबार ००:००  ५ : ३८ बजे