मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका लवनी कपिलवस्तुले आर्थिक बर्ष ०७८/०७९ का लागि ५७ करोड ७३ लाख ९० हजार ८४ रुपैयाँ अनुमानित बजेट पारित गरिएको छ ।
लवनीमा बुधबार सम्पन्न छैठौँ गाउँ सभाले सो बजेट पारित गरेको हो । गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा ८ करोड ५० लाख प्रशासनिक खर्च, २८ करोड ७४ लाख पुजीगत खर्च, सशर्त तर्फ २० करोड २२ लाख तथा प्रकोप ब्यवस्थापन कोष मौज्दातमा २७ लाख १३ हजार बिनियोजित गरिएको छ ।
सो अवसरमा अध्यक्ष खाँले बार्षिक नीति तथा कार्यक्रम समेत प्रस्तुत गरे । शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाई लगायतका क्षेत्रमा नयाँ रुपमा काम गर्ने योजनाहरु समेत गाउँपालिकाले तयार गरेको छ ।
आवधिक योजना तथा दीगो विकास नीति, राजश्व तथा श्रोत परिचालन तथा व्यवस्थापन कार्य, आर्थिक विकास नीति तथा कार्यक्रम, भौतिक पूर्वाधार तथा विकास सम्बन्धी नीति तथा कार्यक्रम रोजगारी तथा सामाजिक सुरक्षा सम्वन्धी नीति, सामाजिक विकास संबन्धी नीति पारित भएको छ ।
यस्तै लैङ्गिक हिंसा तथा सामाजिक समाबेशीकरण सम्बन्धी नीति, वन वातावरण तथा बिपद ब्यवस्थापन सम्बन्धी नीति तथा सेवा प्रवाह सुशासन तथा संस्थागत विकास सम्बन्धी नीति समन्वय र सहकार्य सम्बन्धी गाउँपालिकाले तय गरेका निति तथा कार्यक्रमहरु समेत पारित गरिएको थियो ।
सो अवसरमा अध्यक्ष खाँले सिमित श्रोत र साधनका बावजुत गाउँपालिकाको प्रत्येक वडामा समानुपातिक रुपमा बजेट र कार्यक्रम लगिएको बताए । आफ्नो यो कार्यकालको अन्तिम तथा पाँचौ बर्षमा सबैले मेहिनेत र जोड लगाएर काम गर्नु पर्ने बताए ।
सो अवसरमा उपाध्यक्ष सुधादेवी पाण्डेयले सबै मिलेर काम गरेकाले विकास सबै गाउँमा पुगेका बताइन । अध्यक्ष खाँको अध्यक्षता र प्रशासन अधिकृत इश्वरी प्रसाद न्यौपानेको संचालनमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, लेखा अधिकृत ऋषिदेव अर्याल, वडा अध्यक्ष तिलकराम यादव लगायतले मन्तब्य दिएका थिए ।
असार १० मा नीति तथा कार्यक्रम पारित भएपनि गाउँपालिकाले हाल आएर योजना तथा बजेट पारित गरेको हो ।
प्रतिक्रिया