९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लुम्बिनीका ४१ सांसद राजापानी रिसोर्टमा, पत्रकारलाई प्रवेश निषेध !



मायादेवी अनलाइन, चारनम्बर ।
लुम्बिनी प्रदेशका विपक्षी दलका नेताहरुले आफ्ना सांसदहरुलाई कपिलवस्तुको राजापानी रिसोर्टमा ल्याएका छन् । सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावको तयारी तथा त्यसपछि सरकारमा सहभागिताको भागवण्डा मिलाउन भन्दै विपक्षी दलका नेताहरुले आफ्ना सांसदलाई रिर्सोटमा ल्याएका हुन् ।

गठबन्धनले अविश्वासको प्रस्तावका पक्षमा रहेका ४१ जना सांसदहरुलाई यही रिसोर्टमा राख्ने तयारी गरेको स्रोतले बताएको छ । संसद खरिद विक्री हुने डरले गठबन्धनले यस्तो तयारी गरेको नाम नबताउने शर्तमा एक सांसदले बताए ।

विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वास प्रस्तावमाथि भोलि छलफल हुने भएकाले सांसदलाई प्रलोभनमा पार्ने डरले रिसोर्टमा लगिएको भए पनि सत्तापक्ष दल नेकपा एमाले भने विपक्षी गठबन्धनका कम्तीमा २ जना सांसद आफ्नो पक्षमा तान्न लागि परेको बताइन्छ ।

यो होटल माओवादी नेता नारायण महतको हो । उनी विभिन्न पार्टी परित्याग गरी अहिले माओवादीमा छन् । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित राजापानी रिसोर्टमा गठबन्धनका नेताहरुसहित संसदहरु जम्मा भइरहेका छन् ।

एमाले नेतृत्वको सरकार नरहने भन्दै गठबन्धनले आफ्ना सांसद सुरक्षित राख्नका लागि यस्तो रणनीति तयार गरेको ती सांसदले बताए ।

जसपा संसदीय दलका नेता सहसराम यादवले आफु घरमै रहेको दावी गरे। आफु अब भैरहवा जान लागेको उनले बताए ।
यता रिर्सोटमा सांसद भए नभएको बुज्दा कसैले फोन उठाउन खोजनन् । होटल भित्र कसैलाई पस्न दिइएको छैन् । होटल प्याक भएको भन्दै कसैलाई प्रवेश नदिइएको हो ।

सर्वोच्चले जसपाका ३ सांसदलाई पुनर्बहाली गर्न अस्वीकार गरेपछि सरकार स्पष्ट अल्पमतमा परिसकेको छ ।

यता विशेष अधिबेशनको मिति नजिकिदै गर्दा सत्ताधारी दल नेकपा एमाले भने विभिन्न बाहनामा संसदसँग भाग्न खोजिरहेको छ । सत्तापक्षका सांसद लिला गिरीले लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

गिरीले प्रदेश प्रमुख कार्यालयलाई विपक्षी बनाएर विशेष अधिवेशन विरुद्ध रिट दायर गरिएका हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८ मंगलबार ००:००  १ : ५३ बजे