९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

चुरेको ढुङ्गा, गिट्टी, बालुवा निर्यात अब रोकिने



काठमाण्डौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले यसअघिको सरकारले घोषणा गरेको चुरे क्षेत्रको उत्खनन् गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाउने भएको छ ।

संयुक्त सरकारले आइतबार साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै पर्यावरणमा समस्या उत्पन्न हुने गरी मुनाफाका लागि प्राकृतिक स्रोत साधनको दोहन हुन नदिने आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

साथै जनताको पर्यावरणीय अधिकार तथा जैविक विविधता संरक्षण गर्न ठोस कदम चाल्ने पनि वर्तमान सरकारको नीति रहेको छ ।

यसअघि नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेटमार्फत वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा खानीजन्य ढुङ्गा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।

बजेट वक्तव्यमा निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रेप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको समेत उल्लेख छ ।

वर्तमान सरकारले वन, वातावरण र नदी नियन्त्रणका कार्यक्रमलाई प्राथमिकता दिने, चुरे र शिवालिक पर्वत शृङ्खलाको संरक्षणका लागि सञ्चालित चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाई तराई मधेशको मरुभूमिकरण रोक्ने नीति लिएको जनाएको छ ।

आगामी दिनमा ठूला नदीको बहुउद्देश्यीय उपयोग र एकीकृत विकासको नीति लागू गर्ने र वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० का आधारमा कार्यान्वयन गर्ने, पृथ्वीमा बढ्दो तापमान तथा जलवायु परिवर्तनका कारण जनताको जीवनमा पर्ने असर र जोखिमलाई न्यूनीकरण गर्नका लागि आवश्यक सतर्कता अपनाउने र विकासका कार्य पर्यावरणमैत्री, सन्तुलित र न्यायोचित ढङ्गले अगाडि बढाइने साझा न्यूनतम कार्यक्रममा उल्लेख छ ।

विश्वमा तीव्र गतिले बढिरहेको औद्योगिकीकरण, जैविक, रासायनिक तथा आणविक हतियारको होड र त्यसबाट उत्पन्न हुने विकिरणयुक्त पदार्थ, हरितगृह, जलवायु प्रदूषण आदिका कारण हुने तापमान वृद्धिले निम्त्याउने विनाशकारी डढेलो, उष्ण वायु, आँधी, तुफान, चक्रवात, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, डुबान, हिमपहिरो, सुक्खाजस्ता प्राकृतिक विपद्को जोखिम अन्त्यका लागि अन्तर्राष्ट्रियरूपमा सहकार्य गर्ने र क्षमता तथा आवश्यकतानुसार नेतृत्व लिने सरकारको साझा न्यूनतम कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८ सोमबार ००:००  ९ : ३९ बजे