काठमाण्डौँ ।
सरकारले आजदेखि अस्ट्राजेनिका खोप दिने भएको छ । विशेषगरी पहिलो मात्रामा कोभिशिल्ड खोप लगाएर दोस्रो मात्राको खोपको पर्खाइमा रहेका १४ लाख जना नागरिकलाई यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले जानकारी दिएको छ । दोस्रो डोज खोपको पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेर समूहका करिब १४ लाख जना नागरिकलाई अस्ट्राजेनिकाको खोप दिन लागिएको हो ।
साउन २५ गतेदेखि अस्ट्राजेनिका खोप अभियान सुरू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोख्रेलले जनाएका छन् । कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेकालाई अस्ट्राजेनिका खोपको दोस्रो मात्रा दिने तयारी छ ।
दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने विभागले जनाएको छ । भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको अस्ट्राजेनिका खोप बिरामी र वैदेशिक रोजगारीमा जानेहरूलाई पनि लगाइने भएको छ ।
वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मृगौलाले काम नगरी डायलाईसिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने विभागले जानकारी दिएको छ ।
प्रतिक्रिया