१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

पछिल्लो दिन भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी, ८ राज्य पूर्ण लकडाउनमा



एजेन्सी ।

भारतमा लगातार दोस्रो दिन नयाँ कोरोना सङ्क्रमितको सङ्ख्यामा केही कमी देखिएको छ । शनिबार ३९ हजार ६१ जना नयाँ सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा थप ४३ हजार ९२८ जना निको भएका छन् भने ४९१ जनाको मृत्यु भएको छ ।

योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्यामा ५ हजार ३७२ ले कमी आएको छ । शुक्रबार पनि सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ९४८ ले घटेको थियो । जुलाई १९ पछि भारतमा निको हुने सङ्ख्या यो सबैभन्दा बढी हो । सो दिन ४५ हजार ३५६ जना निको भएका थिए ।

चेन्नई इन्सटीच्युट अफ म्याथम्याटिकल साइन्स्का अनुसार अहिले कोरोनाका एक सङ्क्रमितले एकभन्दा बढी व्यक्तिलाई सङ्क्रमित बनाइरहेका छन् ।

कोरोनाको डेल्टा भेरियन्ट बढिरहँदा भारतमा जोन्सन एन्ड जोन्सनको सिङ्गल डोज खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । अहिले भारतका ८ राज्यमा पूर्ण लकडाउन जस्तै प्रतिबन्धहरू लागू गरिएको छ । यसमा पश्चिम बङ्गाल, हिमाचल प्रदेश, झारखन्ड, ओडिशा, तमिलनाडु, मिजोरम, गोवा र पुडुचेरी सामेल छन् ।

त्यस्तै २३ राज्य र केन्द्र शासित प्रदेशमा आंशिक लकडाउन रहेको छ । हालसम्म भारतमा ३.१९ करोड मानिस सङ्क्रमित भइसकेका छन् भने ३.१० करोड निको भएका छन् । हालसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट ४.२७ लाखले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७८ आइतबार ००:००  १२ : ३६ बजे