९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

समतल, पहाड, कच्ची र पक्कीमा कुन सवारीको गति कति ? (जान्नुहोस् )



मायादेवी अनलाइन, चारनम्बर ।

सडकमा सवारी दुर्घटनाको प्रमुख कारक हो सवारी गति । ठाउँ अनुसार सवारीको गति पालना नहुँदा दुर्घटनाकै कारण ठुलो जनधनको क्षति भएको नेपाल प्रहरीको तथ्याङ्कमा देखिन्छ ।

सवारी तथा यातायात ब्यवस्था नियमावली २०५४ ले सडकमा गुड्ने मोटरसाइकलदेखि अन्य सबै सवारी साधनको गति कायम गरेको छ । तर चालकले नियमावलीमा उल्लेख गरेको गति कायम गर्न नसक्दा बर्षेनी ठूला दुर्घटना भएका छन् ।

मोटरसाइकल, स्कुटर, जीप, भ्यान, पिकअप, टेम्पो, स्कुटर, पावर टिलर, ट्याक्टर, बस, ट्रक, मिनीट्रक र टिप्परलाई समतल, तराई, कच्ची र पक्की बाटाको लागि स्पिड तोके पनि पालनामा गम्भिर लापरबाही भइरहेको छ । यसमा नियामक निकाय नेपाल प्रहरी र ट्राफिक प्रहरीको पनि पटक्कै ध्यान देखिँदैन । नियमावलीमा उल्लेख गरिएको गति ड्राइभरले त पढेकै हुँदैनन् भने, कतिपय प्रहरी यसबारे बेखर नै छन् ।

जसका कारण दुर्घटनाका घटना कम नभई बढिरहेका छन् । कोरोनाको कारण भएको लकडाउनमा पनि सयौँ सवारी साधन दुर्घटनामा परे । यसको कारण पनि चालकले नियमावलीमा भएको गतिको वेवास्ता गर्नु हो । यसरी दुर्घटना बढेपछि मायादेवी अनलाइनले सवारी नियमावलीको पाना पल्टाएको छ ।

कस्तो छ त सवारीको गति ?

नियमावलीको परिच्छेद ३, सार्वजनिक सवारीको वर्गीकरण, स्तर तथा क्षमता नियम १८, उपनियम ५ मा क्षमताअनुसार सबै सवारी साधनको गति निर्दिष्ट गरिएको छ । सो नियमावलीमा उल्लेख भएअनुसार मोटरसाइकल र स्कुटरको गति (समतल, तराई, कच्ची र पक्की) मा प्रतिघण्टा ५०/४० हो तर यो नियम कुनै मोटरसाइकल र स्कुटर चालकले लागु गरेको पाइदैन । त्यसैले हरेक बर्ष सबैभन्दा बढी दुर्घटनामा मोटरसाइकल र स्कुटर पर्दछन् ।

त्यसैगरी कार, जीप, भ्यान, र पिकअपको लागि जुनसुकै बाटोमा प्रतिघण्टा ८० किलामिटरको गति कायम गरिएको छ । यसमा पनि ड्राइभरले चरम लापरबाही गर्दा बर्षेनी धेरै दुर्घटना भइरहेका छन् ।

त्यसैगरी टेम्पोको लागि प्रतिघण्टा ४० किलोमिटरको गति तोकिएको छ । यसमा पनि चालकले गम्भिर लापरबाही गर्दछन् । कतिसम्म प्रति किलोमिटर पनि ७०/८० को गतिमा पनि टेम्पो गुड्ने गरेको पाइन्छ ।

नियमावलीले पावर टिलर र ट्याक्टरको गति पनि प्रतिघण्टा ४० किलोमिटर नै तोकेको छ । तर, यो नियमावलीको खिल्ली उडाउँदै ट्याक्टरहरु हेलिकप्टर गतिमा गुड्दा दुर्घटना बढेका छन् ।

बसको लागि बाटो अनुसार गति तोकिएको छ । समतलमा प्रति घण्टा ७०, पहाडमा ५०, तराईमा ९०, कच्चीमा ५० र पक्कीमा ७० किलोमिटरमा बस गुड्नु पर्दछ । तर यो गति कुनै बस चालकले पनि लागु गर्दैनन् ।

नियमावली अनुसार ट्रक, मिनी ट्रक र ट्रिपरलाई समतल, तराई भए प्रतिघण्टा ७०, कच्ची र पहाड भए प्रतिघण्टा ५० किलोमिटरको गति कायम छ ।

अझ ट्रक र ट्रिप्पर चालकले त यो नियममाथि धावा बोल्दै हाँक्छन् । अहिले सडकमा सबैभन्दा धेरै दुर्घटना गराउनेमा ट्रिप्पर चालक पर्दछन् । एम्बुलेन्स शवबाहन र दमकललाई गति तोकिएको छैन । नियमावलीमा बाक्लो वस्ती भएको इलाकामा प्रतिघण्टा ४० किलोमिटरभन्दा कुनै सवारी चलाउन नपाइने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८ शनिबार ००:००  ३ : ५८ बजे