१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

दाङमा आँखामा लाग्ने ‘भाइरल भाइरस’ का सङ्क्रमित बढे




दाङ ।

दाङमा मानिसको आँखामा लाग्ने भाइरल भाइरस संक्रमणका बिरामी बढेका छन् । तुल्सिपुरको रक्षाचौरमा रहेको राप्ती आँखा अस्पतालमा पछिल्लो एक हप्तामा दैनिक तीन सय ५० जना सम्म बिरामी परीक्षणका लागि आउने गरेको र तीमध्ये दैनिक ५०\६० जनामा भाइरल भाइरस संक्रमण भेटिने गरेको अस्पतालका बाह्य कार्यक्रम अधिकृत सालिकराम गौतमले जानकारी दिनुभयो ।

गएको एक हप्ताको अवधिमा भाइरल संक्रमणका बिरामी बढेको आँखा अस्पतालले जनाएको छ । दैनिक एक सय देखि २ सय सम्म बिरामी आउने गरेकोमा अहिले भने दैनिक उपचारका लागि आउने बिरामीको संख्या पनि बढेको छ ।

भाइरल भाइरसको संक्रमण हुँदा आँखा रातो हुने, आँखा बिझाउने, उज्यालोमा हेर्न गाह्रो हुने, विस्तारै आँखा धमिलो हुँदै जाने जस्ता लक्षण देखिने गरेको छ ।​

वर्षायाममा भाइरसहरु सक्रिय हुने भएकाले यस्तो संक्रमण बढी हुने गरेको गौतमले बताउनुभएको छ । एकजनामा आँखाको समस्या देखिएमा तुरुन्त आँखा जँचाउनु पर्छ भन्ने चेतनाको कमी, वर्षामा आँखा पाक्छ भनेर सामान्य रुपमा लिँदा पनि भाइरल भाइरस धेरैमा फैलने गरेको छ ।

यस्ता लक्षण देखिएमा आँखामा जथाभाबी औषधि प्रयोग नगरी आँखा अस्पतालमा गएर परीक्षण गराउन उहाँले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८ शनिबार ००:००  १२ : १८ बजे