१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

जापानले दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाण्डौमा




काठमाण्डौ ।
जापानले नेपाललाई दिने भनेको १६ लाख डोज एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाण्डौ आइपुगेको छ ।

कतार एयरवेजको विमानबाट बिहान खोप त्रिभुवन विमानस्थलमा आइपुगेको हो । १६ लाख डोज खोपमध्ये आज झण्डै ४ लाख आइपुगेको छ भने ४ लाख भोलि र बाँकी ८ लाख डोज खोप पनि यही महिनाभित्र आइपुग्ने खोप महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस् ।
कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा रहेका नागरिकले पर्सिदेखि खोप पाउने
हिजो भुटानबाट तीन लाख डोज एस्ट्राजेनेकाको खोप काठमाण्डौ आइसकेको छ । कोभिसिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका नागरिकका लागि पर्सिदेखि खोप अभियान सुरु हुनेछ । यसअघि कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका नागरिकलाई यो खोप दिइने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पर्सि सोमवारदेखि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप लगाइनेछ । प्रदेश(१ र प्रदेश-२ मा केही दिन ढिला हुने भए पनि यो महिनाभित्र सुरु भइसक्ने पनि उहाँले उज्यालोलाई जानकारी दिनुभयो ।

गएको फागुन तेस्रो हप्ता ६५ वर्षमाथिका झण्डै १४ लाख नागरिकले कोभिसिल्डको पहिलो मात्रा लगाएका थिए । पहिलो मात्रा लगाएको १२ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भनिए पनि भारतले सम्झौताअनुसार १० लाख डोज खोप नदिएपछि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका नागरिक दोस्रो मात्रा लगाउनबाट वञ्चित हुँदै आएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७८ शनिबार ००:००  १२ : ०२ बजे