मायादेवी अनलाइन, चारनम्बर ।
‘मेरो सपना अब नेपालको राष्ट्रिय टिमबाट खेल्ने छ । र त्यो चाँडै पुरा गर्नेछु । यो कपिलवस्तुको लागि गौरवको कुरा नै हुने छ । यस अर्थमा हुने छ कि नेपाली राष्ट्रिय फुटवल टोलीमा म जस्ता नयाँ नयाँ खेलाडीले अहिले चान्स पाइरहेका छन् । म पनि चाँडै कपिलवस्तुको प्रतिनिधित्व गर्दै राष्ट्रिय टिमको जर्सीमा रंगशालामा देखिने छु ,’ यो प्रतिक्रिया हो निशान न्यौपानेको । ए डिभिजन लिग खेल्ने पक्का भएपछि उनले यो भनाई राखेका हुन् ।
नेपाली फुटवल विकासको कोषेढुंगा मानिने चर्चित फुटवल लिग हो, ‘ए डिभिजन लिग’ । यस लिगमा छनौट भई उत्कृष्ट प्रदर्शन गर्न कैयौँ खेलाडीले राष्ट्रिय टिमबाट खेलेर आफ्नो सपना पनि पुरा गरिरहेका छन् । ब्यवसायिक रुपमा फुटवल खेल्ने हरेक नेपाली फुटवलरको लक्ष्य पनि सुरुमा ए डिभिजन नै हुन्छ । त्यसपछि राष्ट्रिय टिम अनि अन्र्तराष्ट्रिय फुटवल क्लवसंगको अनुबन्ध । कतिपय प्रतिभावान् खेलाडी भएर पनि बिभिन्न कारणले ए डिभिजन लिग खेल्न पाउँदैनन् । कतिको सोर्सफोर्स पुग्दैन । कतिमा राजनिति हुन्छ । तर कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ बनकसिया निवासी १७ बर्षका निशान न्यौपानेले भने यो अवसर पाएका छन् । उनको खेल कौशल र बिभिन्न क्लवबाट खेल्दा देखिएको परिपक्व खेलले गर्दा निशानले अहिले ए डिभिजनको अवसर पाएका हुन् ।
अर्थात् निशान न्यौपाने अहिले राष्ट्रमै चर्चित मानिएको क्लव ‘जावला खेल युथ क्लव’ संग दुई बर्षको लागि करार सम्झौता गरेका छन् । अहिले कक्षा १२ को परीक्षा दिन गृह जिल्ला आएका उनी असोज २९ गतेदेखि भने जावलाखेल युथ क्लवको जर्सीमा ‘ए डिभिजन लिग’ मा देखिने छन् । जुन कपिलवस्तुबासीको लागि गौरवको कुरा हो । मासिक २५ हजार तलव खाने गरी जावलाखेलमा अनुबन्ध भएपछि अहिले निशानलाई देश विदेशबाट शुभकामना र बधाईको ओइरो आइरहेको छ । यो सम्झौता पछि निशान न्यौपाने पनि ब्यक्तिगत रुपमा धेरै खुसी त छन् नै अब यो अवसरलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने चुनौती पनि थपिएको उनले मायादेवी अनलाइनसंग बताएका छन् ।
यस्तो छ उनको फुटवल करियर
ए डिभिजन लिग खेल्न पुग्नुमा उनले सजिलो बाटो पार गरेका छैनन् । सामान्य परिवारमा जन्मे हुर्केका उनी सानैमा फुटवलमा औधी रुची राख्ने गर्दथे । ६ बर्षको कलिलो उमेरमा उनले पहिलोपटक फुटवल छोएका थिए भने त्यस पहिले टालोको बल पनि खेल्ने गरेको उनले मायादेवीसंग सुनाए । उनले भने ‘सुरुमा गाउँमा के नै हुन्थ्यो र ? घर, आँगन र बाटोमा खेलियो । उमेर पनि बढ्दै गयो त्यसपछि स्थानीय बनकसिया क्लवबाट पनि बिभिन्न प्रतियोगिताहरु खेलेँ । साथीहरुले मेरो खेल राम्रो छ भन्नुहुन्थ्यो । यसबाट म थप प्रेरित हुन्थेँ । स्थानीय दीपक परियार दाजु (हाल अमेरिका) ले मलाइ तिम्रो खेल राम्रो छ तिमी बुटवल जानुपर्छ भनेपछि म बुटवल गएर १२ बर्षमा एन्फामा जोडिएँ । फुटवल तालिम लएँ । त्यसपछि खेलको नसा झन् चढ्दै गयो ।’
निशान त्यति बेला नै एन्फामा नेतृत्वमा रहेका थिए भने २ बर्ष गोर्खा बवाइज युनियनमा पनि क्याप्टेन भएर खेले । लुम्बिनी प्रदेशको टिम, रुपन्देही ११ लगायतका क्लवबाट निशानले अहिलेसम्म विराटनगर गोल्ड कप, तिलोत्तमा गोल्डकप, खप्तड गोल्ड कप जस्ता राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् भने अरु धेरै आन्तरिक प्रतियोगिता पनि खेलिसकेका छन् । स्थानीय र राष्ट्रिय प्रतियोगितामा गरेर अहिलेसम्म ४५ गोल गरेको उनले सुनाए । विश्व फुटवलका अहिलेका सर्वाधिक चर्चित, ६ पटकसम्मका बालोन डियोर विजेता लियोनल मेस्सीका डाइहर्ट फ्यान उनी मिडफिल्डरको पोजिसनमा १० नम्बर जर्सी लगाएर फुटवल खेल्ने गर्दछन् । निशानको सबैभन्दा सबल पक्ष भनेको फिटनेश र फुटवर्क नै हो । यसैका कारण उनले जावलाखेलले आफूलाई अनुबन्ध गरेको हुन सक्ने जनाए । जावलाखेलबाट ए डिभिजन खेल्दा राष्ट्रिय खेलाडी अमिर श्रेष्ठ (फरवार्ड) लगायतसंग खेल्न पाउनु सौभगय नै भएको उनले बताए । पाए १० नम्बरको जर्सी लगाउने र नपाए ए डिभिजनमा जुनसुकै जर्सीबाट भए पनि खेल खेलेर प्रमाणित गर्ने उनले बताए ।
‘सपना’ राष्ट्रिय टिमबाट गोल गर्ने
१७ बर्षमा ए डिभिजन खेल्ने मौका पाएका उनले चाँडै राष्ट्रिय टिममा पर्ने आशा पनि लिएका छन् । नशानशामा फुटवलको रगत बगिरहेको भन्दै अवसर पाए आफैले गोल गरेर नेपाललाई अन्र्तराष्ट्रिय ट्रफी दिलाउनेसम्मको सपना देख्न थालेको उनले मायादेवीसंग बताए । उनले भने ‘म राष्ट्रिय टिममा चाँडै अटाउने छु । किनकि अहिलेका खेल प्रशिक्षक अबदुल्लाह अलमुइतारीले नयाँ खेलाडीलाई चान्स दिइरहनु भएको छ । उहाँ राम्रो कोच हुनुहुन्छ । उहाँले नेशनल खेलमा पनि केही परिवर्तन ल्याउनु भएको छ । आगामी दिनमा पनि म उहाँको आँखामा पर्न सक्छु । त्यही लक्ष्यले आगामी ए डिभिजन खेल्ने छु । राम्रो गर्ने प्रयास गर्ने छु ।’ आमाबुबा, घरका अन्य सदस्य, साथीभाइबाट राम्रो साथ पाएको भन्दै लक्ष्य पुरा गरेरै छोड्ने उनको भनाई छ । उनले अहिलेको नेपालको राष्ट्रिय टिमको खेलमा पनि धेरै परिवर्तन आएको बताए ।
कपिलवस्तुमा फुटवलमैत्री वातवरण छैन
फुटवलर निशानले कपिलवस्तुमा फुटवलको लागि वातावरण राम्रो नरहेको बताएका छन् । जिल्लामा थुप्रै प्रतिभावान् खेलाडी भएपनि उचित कोच र प्रशिक्षणको अभावमा केही हुन नसकेको निशानले मायादेवीसंग बताए । ‘धेरै मजस्ता साथीहरु हुनुहुन्छ । उचित मार्गदर्शन र कोचको अभावमा पलायन भइरहनु भएको छ । आफूमा भएको क्षमता प्रदर्शन गर्न उहाँहरुले पाउनु भएको छैन । अब जिल्लामा एन्फा तालिम र राम्रो कोचको जरुरी भइसक्यो’ उनले भने । जिल्ला खेलकुद विकास संघ र कपिलवस्तु फुटवलसंघले यस विषयमा गम्भिर रुपमा सोच्नु पर्ने उनले बताए ।
प्रतिक्रिया