७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

देशका अधिकांश स्थानमा बदली, चार प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौँ ।
देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ । अहिले बिहान देशभरको मौसम सामान्य बदलीको अवस्थामा रहेको छ । साथै प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा भइ पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुने भएकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको हो ।

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  ७ : ४४ बजे