बुटवल ।
लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले नयाँ सरकार निर्माणमा लागि परेका छन् । एक पछि अर्को गरी लुम्बिनी प्रदेश सरकारलाई कमजोर बनाउने निर्णयहरु भइरहँदा लुम्बिनीका बिपक्षी गठबन्धनले सक्रियता बढाउँदै आएका छन् ।
प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका संसदीय दलका नेता बिरेन्द्रकुमार कनौडियाले सरकार अल्पमतमा रहेकोले अब केही समयमा नै नयाँ सरकार निर्माण प्रक्रियामा लाग्ने बताए । उनले पछिल्लो समय केही सक्रियता बढेको बताउँदै अब छिट्टै केही नयाँ निर्णय हुने तर्क गरे ।
यता माओबादी संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती (बसन्त)ले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नयाँ रणनीति बनाएको बताए । उनले केही समय पहिला लुम्बिनी प्रदेशसभा सचिवालयमा दर्ता गराएको अविश्वासको प्रस्तावलाई टेबुल गर्नको लागि विशेष अधिवेशन आव्हन गर्न आग्रह गरिने जनाउनुभयो ।
आफूहरुले पटक पटक विश्वासको मत लिन आग्रह गर्दागर्दै पनि मुख्यमन्त्री संसदबाट भाग्दै चोरबाटोमार्फत नियुक्त भएको बताउँदै उनले अब सबैभन्दा पहिलो एजेण्डा नै अविश्वास प्रस्ताव नै हुने र यसको लागि आवश्यक गृहकार्य हुने बताए ।
उनले अहिलेको सरकार अवैध रहेको बताउँदै कानूनी रुपमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम रहेपनि १ बमोजिम नियुक्ति लिएको बताउँदै सरकारलाई यति लामो समय दिएपनि नगरेकोले यो विकल्प तयार गरेको बताए । उनले अब माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार बन्ने दाबी समेत उनले गरे ।
प्रतिक्रिया