७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

थप तीन हजार ८ सय ४० जनामा कोरोना संक्रमण



काठमाडौं ।

देशभर पछिल्लो समय थप तीन हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार बुधबार १५ हजार ८ सय ८ जनाको कोरोना परीक्षण गरिएको थियो।
कोरोना संक्रमणबाट २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ भने एक हजार ९ सय ९३ जना कोरोनामुक्त भएको उनले जानकारी दिए। काठमाडौंमा पाँच सय ५९,भक्तपुरमा ९४ र ललितपुरमा दुई सय ६ जना गरी उपत्यकाभित्र ८ सय ५९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सहायक प्रवक्ता अधिकारीले जानकारी दिए।
साउन महिनाबाट कोरोना संक्रमण बढेको अधिकारीको भनाइ छ। गत मंगलबार तीन हजार ८ सय ९९ जना,सोमबार तीन हजार चार सय २१ जना,आइतबार दुई हजार दुई सय ३७,शनिबार तीन हजार एक सय १४ जना संक्रमित भेटिएका थिए।
त्यस्तै,शुक्रबार दुई हजार ९ सय ७७ जना,बिहिबार दुई हजार सात सय १४ जनामा कोरोना संक्रमण भएको थियो। बुधबारको संक्रमितसहित कुल एक सातामा २२ हजार दुई सय दुई जनामा संक्रमण पुष्टि भएको तथ्यांकले देखाएको छ।

प्रकाशित मिति : १३ श्रावण २०७८ बुधबार ००:००  ४ : ४७ बजे